कांग्रेस महाधिवेशन
नवलपरासीमा शेरबहादुर र शशांकको गठबन्धन
८ मध्ये २ वटा पालिकामा मात्रै रामचन्द्रका उम्मेदवार विजयी
काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तरगत पालिका तहको अधिवेशन चलिरहेको छ । केन्द्रमा शीर्ष नेताबीच मतभिन्नता रहे पनि अधिकांश जिल्लामा केन्द्रको गुटले काम गरेको छैन । केन्द्रमा सभापति शेरबहादुर देउवा समूह र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच रस्साकस्सी छ ।
कांग्रेसका संस्थापक बीपी कोइरालाका छोरा डा. शशांक कोइराला पनि संस्थापन इतर (पौडेल) समूहमा छन् । तर, कोइरालाको निर्वाचन जिल्ला, पश्चिम नवलपरासीमा भने केन्द्रको भन्दा ठीकविपरीत गठबन्धन बनेको छ । केन्द्रमा सभापतिको उम्मेदवार बन्न रस्साकस्सी गरिरहेका शशांक कोइरालाले जिल्लामा भने पार्टी सभापति शेरबहादुर देउवासँग मिलेर गठबन्धन बनाएका छन् ।
देउवा र कोइरालाको गठबन्धनले नवलपरासीका ८ स्थानीय तहमध्ये ६ वटामा जित हात पारेको छ भने २ वटामा वरिष्ठ नेता पौडेल समूहका उम्मेदवारले नेतृत्व सम्हाल्ने मौका पाएका छन् ।
देउवाले पार्टी ध्वस्त बनाएको र देउवालाई हराउन आफू सभापतिको उम्मेदवार बन्नुपर्ने दाबी गरेका शशांकले उनै देउवासँग साँठगाँठ गरेका छन् । नवलपरासीको गैडाकोट नगरपालिकामा शशांक निकटका सभापतिका उम्मेदवार बद्री सापकोटाले पौडेल समूहका खेम सापकोटालाई हराए । जित हात पारेका सापकोटा शशांक निकटका भए पनि उनलाई शेरबहादुर समूहले पनि सहयोग गरेको थियो ।
देवचुली नगरपालिकामा भने पौडेल समूहले बाजी मारेको छ । यहाँ सभापतिका उम्मेदवारद्वय डिल्लीराम कडरिया र रविलाल सापकोटाले १४७-१४७ मत प्राप्त गरेपछि गोला प्रथाबाट नेतृत्व चयन गरियो । गोलाप्रथा गर्दा पौडेल समूहका कडरिया सभापति बने ।
त्यस्तै बुलिङटार गाउँपालिकामा शशांक र शेरबहादुरका साझा उम्मेदवार ओमकुमार श्रेष्ठ सर्वसम्मत सभापति बने । कमजोर क्षेत्र भएकोले वरिष्ठ नेता पौडेल समूहले आफ्नो उम्मेदवार नै उठाएन ।
बुङ्दीकाली गाउँपालिकामा केबी राना निर्वाचित भए । शशांक र शेरबहादुर निकटका रानाले पौडेल समूहका मनबहादुर सारुलाई हराएका हुन् ।
कावासोती नगरपालिकामा पौडेल समूहले प्यानलनै जित हात पार्यो । यहाँ पौडेल समूहका नेता शालिग्राम ढकालले शशांक र शेरबहादुर देउवाका साझा उम्मेदवार अमृतकुमार श्रेष्ठलाई हराए ।
त्यस्तै हुप्सेकोट गाउँपालिकामा शेरबहादुर देउवा समूहले प्यानल नै जित हात पार्यो । यहाँ देउवाका उम्मेदवार बलबहादुर रानाले पौडेल समूहका ओमनसिंह रजालीलाई हराए ।
मध्यविन्दु नगरपालिका पनि देउवा समूहका उम्मेदवारले सभापतिसहित प्यानल नै जितेको छ । देउवाका उम्मेदवार दोमन भण्डारीले पौडेल समूहका कुलबहादुर गुरुङलाई हराए ।
त्यस्तै विनय त्रिवेणी गाउँपालिकामा पनि देउवा समूहका अजितकुमार श्रेष्ठ सभापति निर्वाचित भए । उनले पौडेल समूहका गम्भीर श्रेष्ठलाई हराएका हुन् ।
नवलपरासीमा पालिकास्तरको अधिवेशनमा देउवाको तर्फबाट विष्णुकुमार कार्कीले नेतृत्व सम्हाले भने पौडेल समूहको नेतृत्व महेन्द्रध्वज जिसीले गरे । शशांक समूहको नेतृत्व उनका स्वकीय सचिव भरत तिवारीले गरेका थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल भने देउवा-कोइरालाको गठबन्धनबारे आफूलाई जानकारी नभएको बताए । ‘महामन्त्रीको पकड क्षेत्र भनेको पूर्व हो पश्चिममा उहाँको खासै छैन । उहाँहरुले के-के गर्नुभयो थाहा छैन । हाम्रो उम्मेदवारहरुले कतै जित्नु भयो कतै हार्नु भयो’ पौडेलले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया