दल

कांग्रेस नेताहरू दिल्लीमा, सुरु गरे भेटवार्ता

इकागज |
असोज २१, २०७८ बिहीबार १८:४८ बजे

काठमाडौँ - भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)सँगको सम्बन्ध सुधारका लागि भन्दै नयाँ दिल्ली पुगेको नेपाली कांग्रेसको टोलीले भारतीय नेताहरूसँग भेटवार्ता थालेका छन् । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले बीजेपी अध्यक्ष जगतप्रसाद नाड्डासँग भेटवार्ता गरेको छ । टोलीलाई दिल्लीमा भारतीय विदेश विभाग इन्चार्ज विजय चौथाइवालेले स्वागत गरेका थिए । 

उनकै निमन्त्रणामा डा. महतको नेतृत्वमा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा र नेता अजय चौरासिया बिहीबार दिल्ली पुगेका हुन् । यो भ्रमणलाई दुई सत्तारुढ दलबीचको सम्बन्ध सुधारको पाटोबाट हेर्न सकिन्छ । ‘हामीले बीजेपीका नेतालाई भदौमा नेपाल बोलाएका थियौँ । अहिले उहाँहरुले हामीलाई ‘कल ब्याक’ गर्नुभएको हो,’ राणाले भने, ‘हाम्रो भ्रमण पार्टी-पार्टीबीचको सदभावलाई उचाइमा लैजाने नै हो ।’ 


टोलीले बीजेपी अध्यक्षसँग भेटवार्ता गर्दै कांग्रेस र बीजेपीको सम्बन्धको बारेमा छलफल गरेको थियो । त्यसअलवा पछिल्लो राजनीतिक अवस्था, नेपाल भारत सम्बन्धलगायतका विषयमा छलफल भएको छ । नाड्डासँगको भेटपछि उनीहरूको सम्मानमा बीजेपी विदेश विभागले रात्री भोज राखेको र अधिकांशसँग त्यहाँ पनि अन्तरक्रिया हुने कार्यक्रम छ । टोलीले शुक्रबार भारतीय  विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछ । त्यसलगत्तै टोलीले बीजेपी महामन्त्री अरुण सिंहसँग दलीय र दुईपक्षीय इस्यूमा आधारित अन्तरक्रिया गर्नेछ । 

नेपाली टोली शनिबार उत्तर प्रदेशको राजधानी लखनउ पुगेर मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट्ने तय भएको छ । त्यो भेटवार्ता पछि उनीहरू बनारससम्म पुग्नेछन् । दिल्लीमा रहँदैमा उनीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटको प्रयास गर्नेछन् । उनीहरू बनारसबाट फर्केपछि पनि त्यहाँ भेट हुने भएर भेटवार्ता गरेर स्वदेश फर्कनेछन् । 

बनारसमा रहँदा बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) को एनएसजी नेपाल स्टडी ग्रुपले गर्ने कार्यक्रममा उनीहरू सहभागी भएर पुनः दिल्ली फर्कदै त्यहाँबाट काठमाडौँ आउनेछन । डा. महतको निमन्त्रणमा भाजपाका विदेश विभाग इन्चार्ज चौथाइवाले नेपाल भ्रमणमा आएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले रक्षाबन्धन बाँधिदिएकी थिइन् । उनी यहाँ रहँदा सबै दलका शिर्ष नेता र दोस्रो तहका केही नेताहरूसँग भेट गरेका थिए । 


Author

थप समाचार
x