दल

'महाअभियोगबारे छलफल भएको छैन'

अदालतका विषयमा प्रश्‍न गर्दा माधव नेपालले भने– राजनीतिक विषयमा जानुस्, म राजनीतिक मान्छे हो

बाबुराम भण्डारी |
कात्तिक १३, २०७८ शनिबार ११:५ बजे

विराटनगर - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विवादमा परेको सर्वोच्च अदालत र त्यसका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराका विषयमा बोल्न अनिच्छा देखाएका छन् । शनिबार बिहान विराटनगर विमानस्थलमा ओर्लिएका नेपाललाई संचारकर्मीहरूले अदालतको भूमिका र प्रधानन्यायधीश राणालाई महाअभियोग लगाउने विषयमा के भइरहेको छ भनेर सोधेका थिए । तर नेपालले आफूलाई राजनीतिक प्रश्न मात्रै गर्न पत्रकारहरूलाई आग्रह गरे ।

उनले न्यायालयले यसबीचमा सन्तुष्टिपूर्ण भूमिका खेलेको दाबी गरे । प्रधानन्यायधीशलाई महाअभियोग लगाउनु पर्दैन ? भन्ने प्रश्नमा उनले भने, ‘छलफल नै भएको छैन, कसैले कुरै गरेको छैन, तपाँईहरूलाई के के लाग्छ, ए फलानाले यस्तो गर्‍यो, उस्तो गर्‍यो भनेर, सबै हावादारी न्यूजमा नजानुस्, त्यसो भएकोले राजनीतिक विषयमा जानुस्, म राजनीतिक मान्छे हो, मेचीदेखि महाकालीसम्म अभियान गर्दै आइरहेको छु ।’


अध्यक्ष नेपाल न्यायालयका विषयमा गरिएका प्रश्नबाट तर्किंदै एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचनामै केन्द्रित बनेका थिए । ‘उहाँको पाँचैजनाले राजीनामा दिनुपर्छ भन्ने जुन अभिव्यक्ति हो, न्यायपालिकाको स्वतन्त्र निर्णय गर्ने अधिकारमाथिको हस्तक्षेप हो’ उनले भने, ‘न्यायपालिकाले दुवै पटक ऐतिहाँसिक निर्णय गरेको छ, त्यसको रिस पोख्नका लागि, समस्या खडा गर्न लागि उहाँले जे कुरा उठाइरहनु भएको छ, त्यो अत्यन्तै अस्वीकार्य छ ।’

उनले अदालतलाई सम्मान गर्नुपर्ने बताए । देखिएका समस्या छलफल गरेर समाधान गर्नुपर्ने बताए । जनताले न्याय पाउने ठोका बन्द भइसक्यो त, तपाँईहरूको भूमिका देखिएन भन्ने प्रश्नमा नेपालले भने, ‘यो सबै बारेमा हामी बसेर छलफल गर्छौं ।’ कहाँ गरेका छौं आधा–आधा कार्यकाल ? अध्यक्ष नेपालले प्रदेश १ मा पनि नेकपा (एस) कै सरकार बन्ने दाबी गरे ।

कहिले बन्छ भन्ने प्रश्नमा उनले भने, तिथिमिति मलाई थाहा छैन, आधा–आधा कार्यकालबारे केही छलफल गरेको छैन, हामीले कहाँ गरेका छौं आधाआधा कार्यकाल ?’ उनले बागमतीमा भर्खरैमात्रै राजेन्द्र पाण्डेको नेतृत्वमा नेकपा (एस) कै सरकार निर्माण भएकोले प्रदेश १ मा पनि राजेन्द्र राईकै नेतृत्वमा सरकार बन्ने बताए ।

‘यो ठाउँमा भीम आचार्य नेतृत्वको सरकारलाई हटाउने र हाम्रो गठबन्धनको सरकार र त्यसको नेतृत्व राजेन्द्र राई नेकपा एकीकृत समाजवादीले गर्ने’ उनले भने, ‘केपी ओलीको अन्तिम भनिएको यो ठाउँ हो, उनीहरूले षडयन्त्र गरिरहेका छन्, यहाँ पनि हाम्रै नेतृत्वमा सरकार बन्छ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x