एमालेको १० औँ महाधिवेशन
फेरि पनि तोकिएको समयमा सुरु भएन मतदान
होटलबाहिर प्रतिनिधिको लाइन, अझै केही समय लाग्ने !
सौराहा - चितवनमा नेकपा एमालेको १० औँ महाधिवेशनको चुनावका लागि तेस्रोपटक तोकिएको समयमा पनि मतदान सुरु भएको छैन । केन्द्रीय निर्वाचन आयोगको नयाँ तालिकाअनुसार राती २ बजेदेखि मतदान सुरु हुने समय तोकिएको थियो ।
तर सवा २ बजेसम्म पनि मतदान सुरु हुन सकेको छैन । प्रतिनिधि मतदानस्थल बाहिर लाम लागेर उभिएका छन् । तर निर्वाचन आयोग र एमालेका शीर्ष नेताहरुको तयारी अनुसार तोकिएको समयभन्दा ढिला पनि मतदान सुरु हुने नहुनेबारे अन्योल छ ।
निर्वाचन स्थलमा गएर फर्किएका एमाले नेता पार्वत गुरुङले मतदान सुरु हुन अझै समय लाग्ने बताए । होटल सेभेनस्टार बाहिर प्रतिनिधिसँग कुरा गर्दै उनले मतदान सुरु हुन अझै समय लाग्ने बताएका हुन् । यसले मत हाल्न होटलको गेटमा लाइन लागेका एमाले नेता, कार्यकर्ता र प्रतिनिधिलाई सास्ती भएको छ ।
आइतबार राती पहिलोपटक निर्वाचन कार्यतालिका सार्वजनिक गर्दा राती १ बजेदेखि मतदान समय तोकिएको थियो । तर केही समयमै सोमबार बिहान ८ बजेसम्मका लागि सबै निर्वाचन प्रक्रिया स्थगित गरियो ।
त्यसपछि सोमबार बिहान सुरु भएको निर्वाचन प्रक्रियामा राती ९ बजेदेखि मतदान सुरु हुने उल्लेख थियो । ९ बजेको समयमा पनि मतदान सुरु हुन सकेन । राती ११ बजेदेखि मतदान सुरु हुने भनिरहदा फेरि मंगलबार राती २ बजे मतदान समय तोकिएको थियो ।
राती २ बजे मतदान सुरु हुने भनेपछि प्रतिनिधि मत हाल्न निर्वाचनस्थल पुगेका थिए । तर तोकिएको समयमा मतदान सुरु नभएपछि एमाले कार्यकर्ता र प्रतिनिधिले निर्वाचन समिति र नेतृत्वसँग गुनासो गर्न थालेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया