दल

माओवादी केन्द्रको स्थायी कमिटी बैठक:

विधान परिमार्जनका लागि ५ सदस्यीय उपसमिति, राष्ट्रिय सम्मेलनमा आउनेलाई दुई हजार शुल्क

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १२:११ बजे

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । 

शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेको र उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । 


प्रवक्ता महाराले पार्टीमा राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि जानकारी दिए । उनले राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरु बनाइएको बताए । बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताए । 

प्रवक्ता महराले लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्नको लागि स्थायी कमिटीले अनुमति दिएको बताए । उनले राष्ट्रिय सम्मेलनबाट हरेक प्रदेशमा घाइते र अपाङ्गहरुको हकहीत सुरक्षित गर्ने निर्णय गरिएको पनि बताए ।  बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधी बनाएको बताउँदै केन्द्रीय प्रतिनिधिको संख्या थप्न अध्यक्ष पुष्पकमल दाहाललाई प्रस्ताव तयार पार्ने जिम्मेवारी समेत दिएको बताए ।  


Author

थप समाचार
x