व्यक्तिगत महत्वाकांक्षा र पद प्राप्त गर्ने आकांक्षाले उम्मेदवारी दिएको हैनः राजेन्द्र लिङदेन
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदका लागि मनोनयन दर्तापछि उम्मेदवार राजेन्द्र लिङदेनले कुनै व्यक्तिगत महत्वाकांक्षा, पद प्राप्त गर्ने आकांक्षाले उम्मेदवारी नदिएको दाबी गरे ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्तरलाई उकास्न, पार्टीलाई उठाएर देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्न आफू नेतृत्वमा आएपछि कदम चाल्ने बताए । अध्यक्षका उम्मेदवार लिङदेनले अहिलेको नेतृत्व परिवर्तन पार्टीका कार्यकर्ताहरुको लागि बाध्यकारी र पार्टी उठाउने कामको सिलसिलाको एउटा प्रस्थानबिन्दु हुने बताए ।
उनले आफू विजयी भएमा राप्रपा बाहिर रहेका राजावादी र हिन्दुराष्ट्रवादीहरुलाई एकत्रित गरेर नेतृत्वमा आएको ६ महिनाभित्र राष्ट्रिय शक्तिको निर्माण गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गराउने प्रतिबद्धता जनाए ।
नेता लिङदेनले भने, ‘अहिले हामीले जुन उम्मेदवारी दिएका छौँ, यो मेरो कुनै व्यक्तिगत महत्वाकांक्षा, पद प्राप्त गर्ने आकंक्षाले उत्प्रेरित गरेर दिइएको उम्मेदवारी होइन, राष्ट्रिय प्रजातन्त्र पार्टी यो ३१ वर्षको इतिहासमा आज जुन अवस्थामा आइपुगेको छ, त्यसबाट पार्टीलाई अझै तल झर्न नदिनको लागि र पार्टीलाई उठाएर देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्नको लागि हामीले एउटा अनिवार्य र बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तनलाई लिएका छौँ । यो नेतृत्व परिवर्तन पार्टीका कार्यकर्ताहरुको लागि बाध्यकारी र पार्टी उठाउने कामको सिलसिलाको एउटा प्रस्थानबिन्दुको रुपमा लिएका छौँ । आगामी दिनमा नयाँ नेतृत्व स्थापित भइसकेपछि अग्रजहरुको सम्मान गर्दै उहाँहरुको भुमिकालाई जीवित राख्दै राप्रपा बाहिर रहेका राजतन्त्र चाहिन्छ, हिन्दुराष्ट्र चाहिन्छ भन्ने व्यक्ति, समूह, संघसंस्था, संगठन, पार्टीहरुलाई सबैलाई ६ महिनाभित्रमा एकीकृत गरेर राष्ट्रिय शक्तिको निर्माण गर्ने, त्योबाट सडक संघर्ष, आगामी निर्वाचनको तयारी गर्ने र राजसंस्था, हिन्दुराष्ट्र पुनः स्थापना सँगै देशभित्रै लाखौँ युवाहरुले गरिखाने वातावरणको निर्माण गर्ने भ्रष्टाचारमुक्त समाजको निर्माण गर्ने, राज्यले दिने सेवासुविधा जातलाई होइन, गरिबलाई दिने व्यवस्थाहरुको निर्माण गर्नेमा लाग्नेछौँ ।’
पार्टीको निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समयावधि भित्र अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेन गरी दुई जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लिलादेवी श्रेष्ठ रहेका छन् भने जगतप्रसाद गौचन, रामचन्द्रराय यादव, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी श्रेष्ठसहित ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै महामन्त्रीमा महिलातर्फ रेखा थापा, कुन्तीकुमारी शाहीको नाम दर्ता भएको छ भने पुरुषतर्फ धवलसमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भाष्कर भद्रासहित ६ जनाको उम्मेदवारी परेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया