दल

कांग्रेस प्रदेश अधिवेशनः

प्रदेश १ मा मतदान सुरु, दुवै समूहको प्यानलै चुनावी मैदानमा

बाबुराम भण्डारी |
मंसिर १८, २०७८ शनिबार ११:८ बजे

 विराटनगर- नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तरगत प्रदेश १ समितिका लागि मतदान सुरु भएको छ । कांग्रेस प्रदेश समितिको निर्वाचनका लागि शुक्रबार पार्टीको संस्थापन र इतर पक्षले प्यानलै उम्मेदवारी दिएका थिए ।

संस्थापनबाट झापाका पूर्वपार्टी सभापति उद्वव थापा र इतरबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्यानलै मैदानमा उत्रिएका छन् । प्यानलका कारण प्रतिनिधिहरु गुटगत रुपमा विभाजित बनेका छन् ।


केन्द्रीय नेतृत्वकै पहल कदमीमा शुक्रबार संस्थापन र इतर पक्षबाट प्रदेश १ समिति लागि मनोनयन दर्ता भएको थियो । सोही अनुसार मतदान स्थलमा दुबै समूहले आआफ्नो प्यानलको लिस्ट बाडिरहेका छन् । 

घिमिरले पौडेल–कोइराला समुह र थापाले सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहको नेतृत्व गर्दैछन् । संस्थापन इतर घिमिरे प्यानलबाट उपसभापतिमा तेह्रथुमका गोविन्द ढुंगाना र मोरङका विश्वनाथ रिजाल, महामन्त्रीमा सुनसरीका उमेश थापा र संखुवासभाका दिपन श्रेष्ठको उम्मेदवारी परेको छ ।

त्यसैगरी संस्थापन देउवा–सिटौला समुहबाट मोरङका रमेशजंग रायमाझी र खोटाङका टंक प्रसाद राईले उपसभापतिमा उम्मेदवारी दिएका छन् । महामन्त्रीमा ताप्लेजुङका पदम सुन्दर पालुङ्वा र खोटाङका भूपेन्द्र राई छन् ।

एक महिलासहित तीन सह–महामन्त्रीमा धनकुटाकी अन्जना ताम्ली, मोरङकी प्रमिला गच्छदार, मोरङकी सीता कार्की, धनकुटाकी इन्दीरा थापा, खोटाङका वीरकाजी राई, मोरङका मानबहादुर लिम्बु, झापाका रोहित साह, शुभचन्द्र राई, उदयपुरका विनोद कुमार बस्नेत, मोरङका खड्ग बहादुर फागोको उम्मेदवारी परेको छ । बस्नेत र फागो संस्थापन पक्षबाट सह–महामन्त्रीको उम्मेदवार बनेका छन् । प्रदेश समितिको निर्वाचनमा १४ जिल्लाका १ हजार ७ सय ७० प्रतिनिधिले मतदान गर्दैछन् ।

अधिवेशनबाट एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, एक महिलासहित तीन सह–महामन्त्री, हरेक जिल्लाबाट महिला १४ र खुला १४ जना सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खसआर्यबाट महिला ७ र खुला ५ सदस्य चुनिनेछन् । 

त्यसैगरी जनजातिमा महिला ७ र खुला ८, मधेशी महिला १ र खुला १, दलित महिला १ र खुला २, थारु महिला १ र खुला १, मुस्लिममा खुला १, अल्पसंख्यक र अपांगमा १र१ सदस्य गरी ८७ जनाको प्रदेश कार्यसमिति बन्दैछ । सदस्य पदका लागि पनि दुवै समूहबाट प्यानलै उम्मेदवारी छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x