दल

कांग्रेसमा एक व्यक्ति, एक पद, एक कार्यकाल हुनुपर्छः महेश आचार्य

बाबुराम भण्डारी |
मंसिर १८, २०७८ शनिबार १६:४९ बजे

विराटनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टीभित्र बैचारिक बहस हुन छाडेको र नेतृत्वमा रहेका व्यक्तिहरूमा पदमा मात्रै केन्द्रित भएको भन्दै कांग्रेसमा एक व्यक्ति, एक पद, एक कार्यकालको नीतिबारे सोच्नु पर्ने बेला आइसकेको बताएका छन् । 

शनिबार विराटनगरमा संचारकर्मीहरूसँगको कुराकानीमा आचार्यले एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी पदमा बस्दा पदको दुरुपयोग हुने गरेको दाबी गरे ।


उनले पार्टीभित्र गुटबन्दी बढेको र त्यसले पार्टीभित्रका हरेक तहको निर्वाचनमा कांग्रेसलाई अप्ठेरो परिरहेको बताए । पार्टीमा सहभागितामुलक छलफल र वैचारिक बहस हुन छाडेकोले आउँदो १४औं महाधिवेशनमा त्यसको नेतृत्व गर्न उपयुक्त पद ‘उपसभापति’ मा आफुले उम्मेदवारी दिने बताए । 

विधानतः उपसभापतिलाई पार्टीको नीति, अनुसन्धान र प्रशिक्षणको जिम्मेवारी हुने भएकोले आफू त्यसैका लागि योग्य भएको उनले जिकिर गरे । ‘पार्टीभित्र नीति विचारको बहस हुने अवस्था छैन, आउँदो अधिवेशनले पनि कांग्रेसलाई बिचार दिने छैन’ पार्टीभित्र गुटगत राजनीति मौलाएकोमा उनले चिन्ता गर्दै थपे, ‘एक व्यक्ति एक कार्यकालका लागि अब सोच्ने बेला आइसक्यो, त्यसो नगर्दा नेतृत्वबाटै पदको दुरुपयोग भइरहने अवस्था देखियो ।’

आचार्यले वडा तहबाटै टुंगिनु पर्ने क्रियाशील सदस्यताको विषयलाई केन्द्रसम्म तानेर नेतृत्वले गुटबन्दीको अभ्यास गराउने गरेको आरोप लगाए । यसले कांग्रेस पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुने खतरा बढाएको तर्क गरे ।

मुलुकमा नयाँ संविधान बनेपछि पनि जनताको आशा अपेक्षा पुरा गर्ने गरी कुनै पनि सरकार संचालन नभएको उनको जिकिर छ । आचार्यले अहिले पनि अध्यादेशबाटै सरकार चलाउने काम भइरहेको, न्यायाधीश नियुक्तिमा राजनीतिक भागवण्डा हुने गरेको, प्रधानमन्त्रीपिच्छे परराष्ट्र नीति तय भइरहेको, निर्वाचन प्रणालीबारे गठबन्धनभित्रै अलग धारणा बन्दै गएकोमा चिन्ता व्यक्त गरे ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x