दल

केसीलाई जिताउन हेलिकप्टर लिएर हेटौंडा पुगे प्रकाशमान

१,४०० मत ल्याएर जित्ने बानियाँको दाबी

इकागज |
मंसिर १९, २०७८ आइतबार १५:३७ बजे

काठमाडौँ– नेपाली कांग्रेसको जारी प्रदेश अधिवेशनमा दोस्रो चरणको मतदान भइरहेको छ । अहिलेसम्म ४५ प्रतिशत मत खसिसकेको छ । आज राती ९ देखि १० बजेसम्म नतिजा घोषणा भइसक्ने निर्वाचन समितिले जनाएको छ । 

बागमती प्रदेशको सभापति चयनका लागि भएको शनिबारको मतदानमा तीन प्रत्यासीमध्ये कसैको पनि ५१ प्रतिशत नपुगेपछि आज पुनः दोस्रो चरणको मतदान भैरहेको छ । शनिबार भएको मतदानमा सभापतिका प्रत्यासी इन्द्र बानियाँले ९९२, जगदिश्वरनरसिंह केसीले ८७२ तथा भीमसेनदास प्रधानले १९७ मत ल्याएका थिए भने १० मत बदर भएको थियो । 


बानियाँ सभापति शेरबहादुर देउवा, केसी वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र प्रधान कृष्णप्रसाद सिटौला समूहबाट प्रतिस्पर्धामा उत्रिएका हुन् । पहिलो चरणको निर्वाचनपछि प्रधानले आफ्नो समर्थन बानियाँलाई रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् । 

दोस्रो चरणको निर्वाचन हुनेभएपछि केसीलाई जिताउन भन्दै १४औं महाधिवेशनमा सभापति पदका प्रत्यासी प्रकाशमान सिंह हेलिकप्टर लिएर प्रदेश अधिवेशन स्थल हेटौंडा पुगेका छन् । उनलाई पार्टीको केन्द्रीय कार्यसमितिले बागमती प्रदेशमा अधिवेशन सम्पन्न गराउने जिम्मेवारी पनि दिएको छ । 

पार्टीले अधिवेशन गराउन जिम्मेवारी दिएका सिंहले अधिवेशनस्थलमा पुगेर केसीको पक्षमा मत मागेको भन्दै बानियाँका समर्थकहरूले विरोध गरेका छन् । बानियाँले दोस्रो चरणको निर्वाचनमा आफूले १,४०० मत ल्याएर विजयी हुने भन्दै सिंहले अधिवेशन स्थलमा आएर गुटगत राजनीतिलाई प्रश्रय दिएको भन्दै आलोचना गरेका छन् । 

अहिले बागमती प्रदेश सभापतिमा स्पर्धा गरिरहेका बानियाँ यसअघि मकवानपुर जिल्ला सभापति र केसी नुवाकोट जिल्ला सभापति थिए । 


Author

थप समाचार
x