दल

सर्लाही– ४ मा अधिवेशन गराउन अमरेशले देउवालाई गुहारे

इकागज |
मंसिर १९, २०७८ आइतबार १७:३९ बजे

काठमाडौँ– त्रियाशील सदस्यता वितरणको विवादमा सांसद पदबाट दिएको राजीनामा सभापति शेरबहादुर देउवालाई बुझाएका नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले आफ्नो क्षेत्रको अधिवेशन गराउन पुनः सभापति देउवालाई आग्रह गरेका छन् । 

सर्लाही क्षेत्र नं.– ४ को अधिवेशनमा सोही जिल्लाको अर्को निर्वाचन क्षेत्रका प्रदेशसभा निर्वाचन क्षेत्रका सांसदले आफ्ना अंगरक्षकबाट गोली चलाउन लगाएको, निर्वाचन अधिकृतलाई नै अपहरण गराएर मतदानविना नै वडा अधिवेशन गराएर क्षेत्रीय प्रतिनिधिको प्रमाणपत्र दिएको र वडा कार्यसमिति चयन गराएको सिंहको आरोप छ । 
नेपाली कांग्रेसभित्र क्रियाशील सदस्य वितरण गर्दा नै फाराम नदिने, वडा समितिबाट पेश भएका फाराममा पनि अन्य नामहरू राखेर पठाउने जस्तो विकृत र निन्दनीय कार्य भएको  भन्दै सिंहले त्यसले निष्ठावान् कार्यकर्ताको कांग्रेसमाथिको आस्थामा चोट पुगेको उल्लेख गरेका छन् । 


सिंहले आफ्नो निर्वाचन क्षेत्रमा मात्र नभइ यस्तो गलत रवैयाको विरोध गर्ने सप्तरी क्षेत्र नं. ४ मा तेजुलाल चौधरीको निर्वाचन क्षेत्र र रौतहत क्षेत्र नं. ४ मा देवप्रसाद तिमिल्सिनाको निर्वाचन क्षेत्रमा पनि सभापति देउवाले निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन जालझेल र पार्टीको विधान, निर्देशिका, नियमावली तथा लोकतान्त्रिक प्रक्रिया विपरित स्वेच्छाचारी शैली अपनाएको भन्दै सिंहले आपत्ति जनाएका छन् । 

उनले आफ्नो क्षेत्रमा निष्पक्ष र धाँधलीरहित ढङ्गले प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन गराउन पनि सभापति देउवासँग माग गरेका छन् । 


 


Author

थप समाचार
x