पार्टीलाई बहुमत र मुलुकलाई स्थायित्व दिलाउन मेरो उम्मेदवारी : देउवा
महाधिवेशनमा अन्तर्राष्ट्रिय प्रतिनिधि नडाक्ने, शक्ति प्रदर्शन नगर्ने
काठमाडौँ– प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका छन् । आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन र मुलुकलाई स्थायित्व दिनका लागि कांग्रेसमा आफ्नो नेतृत्व आवश्यक भएको बताए । पार्टीको विधाले दुई कार्यकाल नेतृत्वका लागि अनुमति दिएको भन्दै देउवाले आफ्नो दाबी स्वभाविक भएको उल्लेख गरे ।
पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रियसभा निर्वाचनसम्म गठबन्धनबीच मिलेर निर्वाचनमा जाने सहमति भएको भन्दै त्यसपछिका निर्वाचनमा सहकार्य गर्ने या नगर्ने भन्ने सम्बन्धमा कुनै छलफल नभएको बताए । फागुनमा राष्ट्रियसभा निर्वाचनपछि अब मुलुकमा तीन तहको निर्वाचन हुँदैछ । स्थानीय, प्रदेश र संघीय सरकारको निर्वाचन एकैपटक गर्ने सम्बन्धमा पनि छलफल चलिरहेको छ ।
आगामी निर्वाचन नेपाली कांग्रेसले एक्लै लड्ने कि गठबन्धन दलहरूसँग सहकार्य गर्ने भन्ने विषय नेपाली कांग्रेसको महाधिवेशनमा एउटा प्रमुख मुद्दा बन्ने देखिन्छ । संस्थापनइतरका नेताहरूले नेपाली कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम रहेको भनिरहेका छन् । यद्यपि देउवाले तीनै तहको आगामी निर्वाचनमा सहकार्य गर्ने या नगर्ने भन्ने बारेमा गठबन्धनमा छलफल नभएको स्पष्ट पारे ।
उनले १४औं महाधिवेशनमा अन्तर्राष्ट्रिय डेलिगेट्स (प्रतिनिधि) नबोलाएको र शक्ति प्रदर्शन नगर्ने पनि जानकारी दिए । ‘महाधिवेशनमा हामी नेतृत्व चयनमा व्यस्त हुन्छौं, त्यस्तो बेला विदेशी पाहुनाहरू बोलाएर के गर्ने ? उनीहरूलाई यथेष्ठ ध्यान पनि दिन सकिदैंन, बाहिरका प्रतिनिधि बोलाउने बेला होइन नि महाधिवेशनमा,’ उनले भने, ‘हामी धेरै मानिसहरू जम्मा गरेर शक्ति प्रदर्शन गर्दैनौं । कोभिड–१९ को नयाँ भेरियन्ट आइरहेको छ । हामी जिम्मेवार हुनुपर्छ ।’
नेकपा एमालेले जस्तो झापादेखि महेन्द्रनगरसम्मका मान्छे बसमा ओसार्ने काम नगर्ने उनले बताए । ‘मैंले त महाधिवेशनमा सहभागीहरू ल्याउँछु भन्नेहरूलाई पनि ठीक्क ल्याउ है, भीडभाड नगर भनिरहेको छु । आउन चाहाने धेरै छन् तर महामारी टरेको छैन,’ उनले भने, ‘दुःख पाउँछन् नि टाढा–टाढादेखि आउनेहरूले । त्यो हामी गर्दैनौं ।’
पार्टीको महाधिवेशनमा नेतृत्व चयनको मात्र चर्चा भयो नीतिमा बहस भएन भन्ने सन्दर्भमा बोल्दै देउवाले विधानको व्यवस्था अनुसार नै नेतृत्व चयनको ६ महिनापछि नीतिमाथि बहस गर्न सम्मेलन आयोजना हुने उल्लेख गरे ।
‘जटिल परिस्थितिमा यो सरकार निर्माण भएको हो । निर्वाचन गराउनुपर्नेछ, मेरो नेतृत्वमा सबैले निर्वाचन गराउन चाहेका छन्,’ उनले भने, ‘त्यसकारण यो सरकारको निरन्तरता आवश्यक छ । निर्वाचनबाट मुलुकले स्थायित्व पाउँछ, नेपाली कांग्रेसले बहुमत ल्याउँछ । यसका लागि म पुनः सभापतिमा प्रतिस्पर्धा गर्दैछु ।’
देउवा यसअघि २०७२ फागुनमा भएको महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति बनेका थिए । मुलुकमा संघीय प्रणाली लागू भएपछि पार्टीको संघीय विधान अनुसार नेपाली कांग्रेसले पहिलो महाधिवेशन सम्पन्न गर्दैछ ।
महाधिवेशन मंसीर २४ देखि २६ सम्म हुँदैछ । २४ गते नै पार्टीको महाधिवेशनको उद्घाटन कार्यक्रम तय भएको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया