दल

कांग्रेसका युवाको निस्कर्षः सभापतिमा साझा उम्मेदवार बनाएरै छोड्ने, नेता सहमत नभए गोप्य मतदान गराउने

इकागज |
मंसिर २१, २०७८ मंगलबार १२:० बजे

काठमाडौँ- नेपाली कांग्रेसको युवा नेताहरुले देउवाको विकल्पमा साझा उम्मेदवार तय गर्न हस्तक्षेपकारी भूमिका खेल्ने निर्णय गरेका छन् ।

काठमाडौँको गौशालास्थित अनुपम फूडल्याण्डमा बसेका युवाहरुको बैठकले देउवाकाविरुद्ध साझा उम्मेदवार चयन गर्न दबाब दिने र दबाबले नपुगे हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने निर्णय गरेका हुन् । 


 पौडेल–कोइराला प्यानलबाट चार आकांक्षी हुँदा प्रतिनिधिहरु निराश हुन लागेको निस्कर्षसहित नेताहरु आजै साझा उम्मेदवार चयनमा सफल नभए भोलिदेखि हस्तक्षेप सुरु गर्ने उनीहरुको तयारी छ । 

पौडेल, कोइराला र सिंहबीच साझा उम्मेदवारका विषयमा छलफल गर्न दिउँसो १ बजे चाक्सीबारीमा केन्द्रीय सदस्य सहितको बैठक डाकिएको छ । त्यो बैठकमा सहमति नभए युवाहरुले आफ्नो भूमिकाको खोजी सुरु गर्ने छन् । 

 केन्द्रीय सदस्य धनराज गुरुङका अनुसार नेताहरु सहमतिमा नपुगे आजै साँझ बस्ने बैठकबाट युवाहरुको रणनीति तय हुने छ । 

'हामी जिल्ला सभापति, पूर्वजिल्लासभापतिहरु, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिहरुको भेला आयोजना गरेर उनीहरुका सुझाव सभापतिका आकांक्षीहरुलाई राख्न लाउँछौ,' गुरुङले युवा भेलाबारे भने, 'त्यसमा उहाँहरु सहमति हुनुभएन भने युवाहरुले नै तपाईहरुमध्ये फलानो उम्मेदवार बन्नुस  बाँकी अहिलेलाई मौन बस्नुस भनेर भन्ने छौ ।'

 उनले अहिले नै नेताहरुमा दबाब परिसकेकाले केन्द्रीय सदस्यहरुको राय अनुसार नै नेताहरु सहमतिमा पुग्ने विश्वास व्यक्त गरे ।  छलफलमा सहभागी एक युवा नेताका अनुसार नेताहरु सहमत नभए प्रजातान्त्रिक विधिको प्रयोग गर्ने युवाहरुको तयारी छ ।

 'उहाँहरू आफै बलियो छु, मै उम्मेदवार बन्नुपर्छ भनेर सबैले अडान राख्दै जानुभयो वा एकभन्दा बढी व्यक्तिले त्यो दाबी छोडेनन् भने हामी गोप्य मतदान गराएर को लोकप्रिय छ भन्ने छर्लङ्ग बनाउँनेछौं' उनले भने ।


Author

थप समाचार
x