कांग्रेस महाधिवेशन:
एक हजार ब्यालेट बक्स, २९ वटा मतपत्र, २९३ बढी स्पट पोइन्टबाट मत हाल्न सकिने
काठमाडौँ- नेपाली काँग्रेस आसन्न १४औँ केन्द्रीय महाधिवेशनको अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १४औँ महाधिवेशन अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
उनले नेपाली काँग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताए । प्रवक्ता शर्माले प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक अन्य सबै तहका निर्वाचन सकिएको र प्रदेश २ मा महाधिवेशनपछि निर्वाचन गर्ने बताए ।
उनले केन्द्रीय महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारको कामलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै महाधिवेशनको स्वागत द्वार र श्रृंगारको संयोजक केपाली काँग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीलाई बनाएर काम अघि बढाइएको पनि बताए ।
प्रवक्ता शर्माले आजबाट सार्वजनिक रुपमा देखिने ढंगको प्रचारप्रसार र आन्तरिक रुपमा गर्नुपर्ने व्यवस्थापनका कुरामा गम्भीरतापूर्वक लागेको बताए ।
प्रवक्ता शर्माले कोरोना भाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरियन्टले बढाउन सक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर र मास्कको अनिवार्य व्यवस्था, महाधिवेशनस्थलमै हेल्थडेस्क राखेर एन्टिजेन परीक्षण गरिने बताए । उनले अन्य प्रकारका रोगहरुका लागि पनि महाधिवेशन स्थलमा नै हेल्थ डेस्क स्थापना गरिने जानकारी दिए ।
प्रवक्ता शर्माले डिजिटल भोटिङको व्यवस्था गर्ने प्रस्ताव आएको भएपनि अब ढिलो भइसकेको भन्दै अबको दुई दिनमा पदाधिकारी र केन्द्रीय समितिको बैठक बसेर पहिलेकै व्यवस्थाअनुसार वा डिजिटलबाट भोट गर्ने भन्ने निर्णय गर्ने बताए ।
उनले यसपटक मतदाताको संख्या धेरै रहेकोले मत व्यक्त गर्न एक घण्टाको समय लाग्ने बताए । डिजिटल भोटिङको व्यवस्था गर्न सकेमा मत व्यक्त गर्न र गणना गर्न पनि कम समय लाग्ने बताए । उनले भने, 'एक हजार बढी ब्यालेट बक्सहरु मैदानमा हुन्छन् । २९३ भन्दा बढी स्पट पोइन्टबाट मत हाल्ने व्यवस्था छ । २९ वटा मतपत्र हुन्छ र मतदाताले, पार्टीको महाधिवेशन प्रतिनिधिले पहिलोपटक गएर शुरुमा सभापतिको मतपत्र लिनुहुन्छ । सभापतिको मत व्यक्त गरेर खसालेपछि क्रमशः उपसभापति, महामन्त्री र सदस्यहरुको मतपत्र लिनुहुनेछ । करिब एक घण्टा मत व्यक्त गर्न लाग्ने परिस्थिति देखिएको छ ।'
प्रवक्ता शर्माले २०४६ सालको परिवर्तनपछि महाधिवेशन आयोजना गर्ने राजनीतिक दलले नीतिको कुरा गरेपनि त्यो भन्दा प्रधान विषय नेतृत्वमा चयन हुँदै आएको र यसपटक भने पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको प्रस्तावमा महाधिवेशनपछि नीति अधिवेशन हुने बताए ।
उनले यस महाधिवेशनमा नेतृत्व चयनको विषय भएकोले नीतिका कुराहरु नगरिने स्पष्ट पारे । प्रवक्ता शर्माले राजनीतिक दल आधुनिक र रुपान्तरित बन्दै जाँदा नीति अधिवेशन र नेतृत्व अधिवेशन फरक गर्नुपर्ने बताए ।
काँग्रेस, देश र समाज रुपान्तरणको लागि विभिन्न नेताहरुले राखेका कुरा केन्द्रीय महाधिवेशनको विषयवस्तु नबने पनि नीति अधिवेशनमा यिनै कुराहरुलाई विषयवस्तु बनाइने बताए । उनले यो महाधिवेशन पूर्व घोषणा बमोजिम नेतृत्व चयनमै केन्द्रित हुने र पार्टीको महामन्त्रीको र अर्को पार्टीको कोषाध्यक्षको गरी महाविधेशनमा दुईवटा लिखित प्रतिवेदन पेश हुने बताए ।
प्रवक्ता शर्माले महासमितिको बैठकबाट अहिलेसम्म आइपुग्दा केन्द्रीय कार्यसमितिले गरेका कामहरुको विषयहरुलाई अनुमोदनको प्रस्ताव पनि पेश हुने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया