एमालेको झण्डा अब बाँदरका हातमा सुम्पिने अवस्था आउँछः माधव नेपाल
सुनसरी- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताएका छन् ।
मंगलबार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताउनु भएकाे हाे ।
एमाले भित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताए । उनले पार्टीको झण्डा उठाउन मजदुर किसान चाहिने भएकाले गैंडालाई थमाइएको समेत बताए ।
अध्यक्ष नेपालले एमाले भन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गएको समेत दाबी गरे । उनले गठबन्धनको सरकारमा सहभागी दलका अघि ओलीको केही नलाग्ने ठोकुवा समेत गरे ।
अध्यक्ष नेपालले भने, ‘त्यो जमात अब क्रान्तिकारी रहेन, कम्युनिष्ट चरित्रलाई कायम राख्न सकेन, माक्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ । त्यो नारायणी नदीमा बगाई दिइसकेको छ । पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको एमालेको झण्डा अबका दिनमा बाँदरका हातमा सुम्पिएर बोक्ने अवस्था आउने छ, त्यहाँ रहेकाहरुको हरिबिजोग भएको छ, हामी त्यहाँ रहेको भए के हुन्थ्यो, सबैलाई थाहा छ, सच्चिनेवाला कोही छैन त्यहाँ भनेर ।’
अध्यक्ष नेपालले एमाले भित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी एक हुने दाबीसमेत गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया