कांग्रेस १४ औँ महाधिवेशन
‘संस्थापन पक्ष’को साख जोगाउन भएभरको बल लगाउँदै देउवा
यसपटक महाधिवेशन प्रतिनिधि आफूतिर बढी देखिएपछि उत्साहित !
काठमाडौं - अघिल्लो महाधिवेशनसँगै ‘संस्थापन पक्ष’का नेताको संज्ञा पाएका कांग्रेस सभापति शेरबहादुर देउवा त्यो ‘संज्ञा’ जोगाउन केही दिनभित्रै शुरु हुन लागेको महाधिवेशन भए भरको ‘बल’ लगाउँदै छन् । अनि आफूलाई चुन्ने महाधिवेशन प्रतिनिधि अघिल्लो चोटिभन्दा बढी आफ्नो पक्षमा देखिएको तथ्यगत विश्लेषणसहित उत्साहित पनि बनेका छन् ।
देउवा पहिलो चरणमै पचास प्रतिशत मत कटाउने रणनीतिमा देखिन्छन् । १३ औँ महाधिवेशनमा देउवालाई पचास प्रतिशत कटाउन जम्माजम्मी ११ मत नपुगेपछि दोस्रो चरणको निर्वाचन गर्नुपरेको थियो । देउवाले दोस्रो चरणमा ५८.२ प्रतिशत मत प्राप्त गर्दै नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए ।
तेह्रौं महाधिवेशनसँगै देउवा ‘इतर’बाट ‘संस्थापन’ पक्ष बनेका हुनु् । नत्र त्यसभन्दा अघि लामो समय ‘संस्थापन इतर’ समूहका नेतामा सीमित मात्र थिए । अघिल्लो चोटि भन्दा यसपालिं महाधिवेशन प्रतिनिधि आफूतिर निकै बढी देखिएपछि उत्साहित बन्न पुगेको हुन् ।
यतिखेरसम्म ६१ जिल्लाको नेतृत्व चयन भएका छन्, जसमा संस्थापन समूहले ३२ जिल्लामा जित हासिल गरेको दाबी लिएको छ । अघिलो महाधिवेशनमा देउवा समूहले २५ जिल्ला सभापति मात्र जितेको थियो । सबैभन्दा बढी मतदाता भएको बागमती प्रदेशको सभापतिमा आफ्नै समूहका इन्द्रबहादुर बानियाँ विजयी भएपछि देउवा उत्साहित निकै बन्न पुगेका हुन् ।
हुन पनि प्रदेश–१ मा इतर समूह निकै बलियो मानिएको थियो । त्यो प्रदेशको सभापति संस्थापन पक्षकै जित हासिल भएपछि देउवा झन् उत्साहित हुन पुगेका हुन् । प्रदेश–१ का १४ जिल्लामध्ये सभापतिमा देउवा समूहले जम्मा तीन जिल्लामा मात्र विजय हासिल गरेको थियो । तर प्रदेश सभापति देउवा समूहले जितेपछि उक्त प्रदेशमा आफ्नो बहुमत आउने दाबी उक्त समूहले लिएको छ ।
नेपाली कांग्रेस १४ औ महाधिवेशनअन्तर्गत ६ वटा प्रदेशको निर्वाचन परिणाम आइसकेको छ । निर्वाचन सकिएका छ प्रदेशमध्ये १, बागमती, कर्णाली र सुदूरपश्चिममा संस्थापन पक्षले विजय हासिल गरेको छ । लुम्बिनी, गण्डकी प्रदेशमा संस्थापन इतर समूहले विजय हासिल गरेको छ ।
देउवाको गृह प्रदेश सुदूरपश्चिममा दुई तिहाई नजिकको प्रतिनिधि आफ्नै पक्षमा भएको दाबी देउवा समूहको छ । प्रदेश–२ का आठ जिल्लामा धनुषाबाहेक आफ्नै पक्षको बहुमत भएको दाबी देउवा समूहको छ । अझ पर्सा र बारामा देउवा पक्षमा झण्डै दुई तिहाई बढी महाधिवेशन प्रतिनिधि आएको दाबी उक्त समूहको छ ।
प्रदेश–२ मा अन्तर्गत जिल्ला र प्रदेश सभापतिको निर्वाचन महाधिवेशनपछि गर्ने योजना निर्वाचन समितिले बनाएको छ । त्यहाँ प्रदेशमा महाधिवेशन प्रतिनिधि चाहिँ चयन भइसकेका छन् । महाधिवेशन प्रतिनिधि छान्न बाँकी सर्लाहीमा पनि मंगलवार निर्वाचन भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया