दल

कांग्रेस महाधिवेशन

यसरी चुनिँदैछन् कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यहरू

इकागज |
मंसिर २२, २०७८ बुधबार १०:३२ बजे

काठमाडौं– मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेस चौधौँ महाधिवेशन जुटेको छ । संघीय संरचनापछि विधानअनुरुप हुन लागेको केन्द्रीय महाधिवेशन आउँदो शुक्रबारदेखि सुरु हुँदैछ । यो महाधिवेशनले १४ पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय समिति बन्नेछ । कांग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट चयन हुनेछन् । कांग्रेस महाधिवेशनमा पदाधिकारी र सदस्य गरी १३४ पदमा मतदान हुनेछ । कांग्रेसमा अघिल्लो चोटी ६४ पदमा मात्रै निर्वाचन भएको थियो ।

कांग्रेसको संसोधित विधान अनुसार सहमहामन्त्रीहरू क्लस्टरबाट उम्मेद्वार बन्नेछन् । तर सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिबाट निर्वाचित हुनुपर्नेछ । तर कोषाध्यक्ष भने प्रत्यक्ष निर्वाचन नभई मनोनित हुनेछन् । महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यमध्येबाट सभापतिले सिफारिस गरेको व्यक्तिलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था गरिएको छ ।


कम्तीमा दश वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष (खुला) ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । सभापतिको सिफारिसमा नवनिर्वाचित केन्द्रीय समितिले थप ३३ जना केन्द्रीय समिति मनोनयन गर्ने व्यवस्था विधानमा छ ।

केन्द्रीय समितिमा महिलाबाट ९ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित तीन समेत गरी २१ जना, दलितबाट ४ महिलासहित ९ जना, आदिवासी जनजातीबाट ७ महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेशीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ केन्द्रीय सदस्य चुनिने छन् ।

यसमा अपाङ्गता वा अल्पसङ्ख्यक समूहबाट १ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यता सभापतिले मनोनयन गर्ने ३३ जना केन्द्रीय सदस्य विधानअनुसार निर्वाचित भएर आउन नसकेको विभिन्न क्लस्टरहरू महिला, समावेशी सिद्धान्त र अपाङ्गता वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी मनोनयन गर्नु पर्ने छ ।

निर्वाचित केन्द्रीय समितिमा क्लस्टर र आरक्षण गरिएको समूहबाट मात्र महिला निर्वाचित भए ४१ जना हुनेछन् । समावेशी र समानुपातिक सिद्धान्त अनुसार सभापतिले थप १४ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने हुन्छ अनि मात्र ३३ प्रतिशत महिला केन्द्रीय सदस्यमा पुग्नेछन् ।
 


Author

थप समाचार
x