दल

म महामन्त्रीको स्वभाविक दाबेदार हुँ :  कार्की

इकागज |
मंसिर २२, २०७८ बुधबार २०:३१ बजे

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आफू नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको स्वभाविक दाबेदार भएको बताएका छन् । 

आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम तय गर्ने बैठकमा कार्कीले आफू महामन्त्रीको स्वभाविक दाबेदार भएको बताएका हुन् । 


सुनसरी क्षेत्र नं. ४ बाट निर्वाचित कार्कीको निर्वाचन क्षेत्रको अधिवेशनबाट सबै २६ जना नै महाधिवेशन प्रतिनिधि देउवा समूहबाट आएका छन् । कार्की नेपाली कांग्रेसभित्र समन्वयकारी र सन्तुलित नेता हुन् । 

नेपाली कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला र कृष्णप्रसाद भट्टराईको सान्निध्यबाट नेपाली कांग्रेसमा आवद्ध भएका कार्कीको राजनीतिक जीवनको सुरुवात नेपाल विद्यार्थी संघबाट भएको हो । २०३९ सालमा नेपाल विद्यार्थी संघको अध्यक्ष रहेका कार्की पार्टीको राजनीतिमा भने सधैं देउवासँग निकट रहे । 

२०१४ सालमा भोजपुरमा जन्मेका कार्की अध्ययनको क्रममा बीपी कोइराला र कृष्णप्रसाद भट्टराईको सम्पर्कमा पुगेका थिए । भट्टराईसँग निकटता र विश्वासको सम्बन्ध निर्माण गरेका कार्की २०४७ सालमा भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री रहँदा स्वकीय सचिव थिए । 

सामान्य जीवनशैली, सकारात्मक सोच र निष्ठाको राजनीतिलाई महत्व दिदैं आएका कार्कीले सुरुवातमा भोजपुर–१ र पछि सुनसरी–४ लाई आफ्नो निर्वाचन क्षेत्र बनाएका हुन् । भोजपुर–१ भने उनलाई कहिल्यै फापेन । दोस्रो संविधानसभामा समानुपातिकबाट प्रतिनिधित्व गरेका कार्की २०७४ को आम निर्वाचनमा सुनसरी–४ बाट विजयी भएका हुन् । 

२०६२/६३ को राजनीतिक परिवर्तनपछि बनेको स्व. गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा जलस्रोत मन्त्रीका रूपमा कार्यरत रहँदा कार्कीले ठूला जलविद्युत् आयोजनाहरूलाई विश्वव्यापी प्रतिस्पर्धा (ग्लोबल कम्पिटीटीभ बिडीङ्ग) मार्फत् विकास गर्न दिने महत्वपूर्ण निर्णय भएको थियो । फलस्वरूप जलविद्युत् क्षेत्रमा विदेशी लगानीकर्ताको प्रवेश सहज र पारदर्शी बनेको हो । 

२०७४ सालको आम निर्वाचन अघि सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा कार्की अर्थमन्त्री हुँदा सबैभन्दा बढी पुँजीगत खर्च भएको थियो । उक्त आर्थिक वर्षमा ३ खर्ब ३५ अर्ब पुँजीगत खर्च विनियोजन भएकोमा २ खर्ब ४० अर्ब रुपैयाँ खर्च भएको थियो । 

कार्कीले अर्थमन्त्री हुँदा बजेट खर्च प्रणालीमा सुधार, कर प्रशासनको सुदृढीकरण गर्नुका साथै संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग ५० करोड अमेरिकी डलर अनुदान सहयोग अन्तरदेशीय विद्युत् व्यापार पूर्वाधारसहितको उच्च क्षमताको विद्युत् प्रसारणलाइन र सडक स्तरोन्नतिमा खर्च गर्नेगरी सम्झौता गरेका थिए । 

पछिल्लो पटक देउवाको नेतृत्वको सरकारमा कार्की कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री र हालै सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका छन् । 

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीको जिम्मेवारीमा रहेर उनले पुनःस्थापित प्रतिनिधिसभालाई सुचारु गराउन र संसदीय सर्वोच्चता कायम गराउन राजनीतिक दलहरूसँग परामर्श र समन्वयलाई निरन्तरता दिएका थिए । यस क्रममा उनले प्रधानमन्त्री देउवाका दूतका रूपमा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पटक–पटक छलफल गरेका थिए । 

मन्त्रिपरिषद् विस्तारको क्रममा कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । 
 


Author

थप समाचार
x