दल

नेपाली कांग्रेसको १४औं महाधिवेशन

आरजू राणा खुलातर्फ केन्द्रीय सदस्यको उम्मेद्वार

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १४:४६ बजे

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रथम महिला आरजू राणाले खुला महिलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छिन् । उनले आज उम्मेदवारी घोषणा गरेकी हुन् । 

प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा यसपटक पनि सभापतिको उम्मेदवार छन् । उनले नेपाली कांग्रेसको विधानले दिएको सुविधा प्रयोग गर्दै मुलुकको स्थिरता र नेपाली कांग्रेसलाई बहुमत प्राप्त गर्ने पार्टीको हैसियतमा फर्काउन आफू उम्मेदवार बनेको बताएका छन् । देउवा पक्ष र पौडेल ( वरिष्ठ नेता रामचन्द्र पौडेल) पक्षबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने आम अनुमानका बाबजूद यो महाधिवेशनमा सभापतिमा चार जना उम्मेद्वार मैदानमा देखिएका छन् । 


कांग्रेसमा पौडेल समूहले साझा उम्मेदवार बनाउने भनिएपनि सभापतिका आकांक्षी देखिएका शेखर कोइराला र प्रकाशमान सिंहले दाबी नछोडेपछि उक्त खेमाबाट दुईजना र देउवा समूहबाट देउवा स्वयं र यसअघि देउवाकै समूहमा रहेका विमलेन्द्र निधि सभापतिको उम्मेदवार बनेका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका पदाधिकारीको नाममा निर्णय केन्द्रीय सदस्यहरूको नाम टुंग्याउन भने आफू पक्षका विभिन्न नेतालाई जिम्मेवारी दिएको थियो । 

केन्द्रीय सदस्यका उम्मेदवारका आकांक्षीको सूची प्रदेशअनुसार तयार पार्न सभापति देउवाले प्रदेश १ को जिम्मा ज्ञानेन्द्रबहादुर कार्कीलाई, प्रदेश २ को जिम्मा रमेश रिजाललाई, बागमती प्रदेशको जिम्मा प्रकाशशरण महतलाई, गण्डकी प्रदेशको जिम्मा गोपालमान श्रेष्ठलाई, कर्णाली प्रदेशको जिम्मा पूर्णबहादुर खड्कालाई र सुदूरपश्चिम प्रदेशको जिम्मा एनपी साउदलाई दिएका थिए । 
 


Author

थप समाचार
x