दल

नेपाली कांग्रेस १४ महाधिवेशन

प्रजातन्त्रका लागि लडेको कांग्रेस डनवादसँग डरायो

सुकिला र मुकिलाले महाधिवेशन कब्जा !

अतिन आचार्य |
मंसिर २४, २०७८ शुक्रबार २१:३१ बजे

काठमाडौँ - 'माओवादीले अपहरण र घरमा बमसमेत पड्काएको थियो । मृत्युको मुखबाट बचेकी कांग्रेस कार्यकर्ता हुँ । इमान्दार कार्यकर्ता भएकाले पैसा खर्च नगरी महाधिवेशन प्रतिनिधि बनेर आएको छु' ५७ वर्षीय कमलादेवी श्रेष्‍ठले कांग्रेस कार्यकर्ता बन्नु पछाडिको सास्ती सुनाइन् ।

उनी आजदेखि सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा चितवनको क्षेत्र नम्बर १ बाट प्रतिनिधि बनेर सहभागी हुन आएकी हुन् । बुढेसकालले छोएकी  श्रेष्‍ठले भावुक हुँदै सच्चा कार्यकर्ताको लागि महाधिवेशन नभई नेताहरूको आसेपासेमा रहनेका लागि भएको बताइन् । जनयुद्धमा कंग्रेसको साथ नछोडेकी उनले पार्टीलाई ठेकेदार र डनहरूले कब्जा गरेकाले उनी चिन्तित छिन् ।


सच्चा कार्यकर्ताले सोचेजस्तो गरेर कांग्रेस पार्टी बन्‍न नसकिरहेको कमलादेवी दाबी गर्छिन् । महाधिवेशने सबै कार्यकर्ता र नेतृत्त्व परिवर्तन गर्न सक्नुपर्ने उनको भनाइ छ । काठमाडौँलाई कांग्रेसको महाधिवेशनले तताए पनि कमलादेवीलाई पार्टीले कार्यकर्तालाई गरेको व्यवहारले मन चिसिएको छ ।

सुकिला र मुकिलाले महाधिवेशनलाई कब्जा

'पार्टीमा काम र योगदान गर्ने मानिसको मूल्यांकन भएन,' हातमा राखेको चाउचाउ खाँदै भन्छिन्,' वडा, क्षेत्र, जिल्लादेखि प्रदेशसम्म डन र धनवाद हावी भएको छ ।' कमलादेवी नयाँ जोश र जाँगर बोकेर पार्टीलाई एक मत दिएर नेत्तृत्व परिवर्तन गर्ने दृढ ईच्छाशक्ति बोकेर आएकी छिन् । उनले महाधिवेशनको माहोल देख्दा परिवर्तन होइन यथास्थितिवादीमा रमाउने कार्यकर्ता पङ्ति देखेकी छिन् । भन्छिन्,'  हामीले परिवर्तन चाह्यौ तर यहाँ सुकिला र मुकिलाले महाधिवेशनलाई कब्जा गरिसकेका छन् ।'

तर, पनि कांग्रेसलाई परिवर्तन गर्न सकिने कमलादेवी लागेको छ । पार्टीमा क्रियाशिल सदस्यता पाएको वर्षमै महाधिवेशन प्रतिनिधि बनेर जान दिनुहुदैन भन्‍ने उनलाई लागेको छ । क्रियाशिल बनेको कम्तीमा ५ देखि ६ वर्षसम्म हुनुपर्ने उनको सुझाव छ ।

एउटै स्वरुप र एकै ठाउँमा बसेको देख्दा मानिसहरूलाई नसुहाएको हो कि जस्तो लाग्छ । पार्टीको एकै पदमा बसिरहेकालाई परिवर्तन गर्नुपर्नको लागि आएको उनी बताउँछिन् । 'पार्टीमा काम गर्न सक्ने र क्षमतावान मानिसलाई पदमा पुग्‍ने अवसर दिनुपर्छ,' उनी भन्छिन् ।

कमलादेवीको अनुभवमा पार्टीको टिकट पाउन पनि भारी रकम खर्चनुपर्ने बाध्यता बन्दै गइरहेको छ । महाधिवेशनमा प्रतिनिध बन्न समूह-समूह बनेर आन्तरिक चुनावमा कार्यकर्ता होमिएका थिए । महाधिवेशन प्रतिनिधि बन्नका लागि एक रुपैयाँ खर्च नगरेको उनको दाबी छ ।

'नेपाली कांग्रेसको १४ औं महाधिवेशन सफल बनाऔं, एकताको सन्देश दियौँ । महाधिवेशन सफल मात्र नहुने यसले नयाँ नेतृत्त्व पनि चुन्‍ने छ ।' यी आवाजहरू भृकुटीमण्डपको भीडभाडमा आज दिनभर सुनिएको थियो । यस्तै आवाज लिएर यतिखेर महाधिवेशनमा सहभागी हुन देशभरबाट ४ हजार ७ सय ४३ प्रतिनिधि आएका छन् ।

समाजवाद शब्द पार्टीको ब्यानमार मात्र लेख्यो

बाराको क्षेत्र नम्बर ४ बाट आएका महाधिवेशन प्रतिनिधि ७६ वर्षीय ईन्द्रासन मण्डलको पार्टी नेतृत्त्वप्रति एउटै माग राखे,' आन्तरिक द्वन्द्व सक्नुहोस । सबै नेता मिलेर पार्टी र देश बनाउनुहोस ।' सबै पार्टी मिलेर एक भएर निर्वाचनमा जाने हो भने पूर्ण बहुमतको सरकार बनाउन सफल हुने उनले विश्‍वास व्यक्त गरे ।

'कांग्रेस ईतिहासमा प्रजान्त्रका लागि लडेको थियो,' उनी भन्छन्,' अहिले समाजमा भएका धनवान र डनका लागि लडिरहेको छ । समाजवाद शब्द ब्यानरमा मात्र लागू भएको छ । जनतालाई आभास हुने गरी समाजवाद लागू भएको छैन ।'

कांग्रेसले मासलाई समेटन नसकेको महाधिवेशनमा सहभागी मण्डल बताउँछन् । झुप्रा र गरिबहरूको घरमा पार्टी पुग्‍न नसकेको उनले बताए । उनी नेत्तृत्व परिवर्तनको पक्षमा भएकाले गाउँ, जिल्लादेखि नयाँ-नयाँ रुपहरू आउनुपर्ने उनको माग छ ।

नियतवश बनाइएका क्रियाशिलबाट गलत नेत्तृत्व छनौट

पार्टीले चाहेको इमान्दार, क्षमता र संगठन निर्माणमा योगदान पुर्‍याएका कार्यकर्ता महाधिवेशन प्रतिनिधिहरू आगामी दिनमा आउन नसक्ने सम्भावना गइरहेको सुनसरी क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधि बिकास आचार्य बताउँछन् । महाधिवेशनमा नेत्तृत्व परिवर्तन हुनुपर्छ भन्‍ने आवाज बुलन्द हुनुपर्ने उनको माग छ ।

'नियतवश बनाइएको क्रियाशिल सदस्यहरूले गलत नेत्तृत्व छनौट हुन थालेका छन्,' उनले भने,' राजनीतिमा विभिन्न तत्त्वहरूले प्रभाव पार्छ भन जस्तै पार्टीमा धन र डनवाद हावी भएको छ ।' तल्लो तहमा पार्टीको नेतृत्व चयन गर्न आर्थिक चलखेल गर्दा मुलुकलाई असर गर्ने उनले बताए ।

आचार्यले सात दशक यता कांग्रेस नेत्तृत्व मात्र परिवर्तन लागेको बताए । कांग्रेसले एजेण्डाको राजनीति गर्दा निर्वाचनमा बहुमत प्राप्‍त गरेको उनी सम्झन्छन् । संविधान जारी गर्न एजेण्डा बनाउँदा कांग्रेसले विजय हासिल गरेको उनले स्मरण गरे । तर, अहिले एजेण्डा तय गर्नका लागि अधिवेशन नभएको उनको दाबी छ ।

'कांग्रेससँग के एजेण्डा छ?,' आचार्यले प्रश्‍न गर्दै भने,' के को लागि कांग्रेसलाई निर्वाचनमा विजयी गराउनुपर्ने, जनताले कांग्रेसलाई के गर्न मत हाल्नुपर्ने केही छ ?' आर्थिक रुपमा मुलुकलाई रुपान्तरण गरी कायापलट गर्न सक्ने कुनै पनि ठोस योजना नभएको उनले बताए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x