दल

कांग्रेस महाधिवेशनमा रामचन्द्र पौडेलको सम्बोधन

दलबन्दीबाट पनि देशलाई मुक्त गर्नुछ

कार्यकर्ताले नेताको मूल्यांकन गर्ने आँट गर्नुपर्छ !

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १९:४४ बजे

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र मूल्यांकनको परिपाटी बसाल्नुपर्नेमा जोड दिएका छन् । नेतृत्वले कार्यकर्ताको मूल्यांकन गर्नुपर्छ तर कार्यकर्ताले पनि नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्ने उनले बताए ।

नेपाली कांगे्रसको चौधौं महाधिवेशन उद्घाटन समारोहमा वरिष्ठ नेता पौडेलले भने, ‘जब नेतृत्वको मूल्यांकन गर्ने साहस र आँट गर्छाैं तब हामी अगाडि बढ्न सक्छौं । हाम्रो प्रगति हुन सक्छ । अहिले हाम्रो गति रोकिएको छ, रोकिएको गतिलाई अघि बढाउन जरुरी छ ।’


उनले कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउन पार्टीभित्र नै आन्तरिक लोकतन्त्र विकास गर्न जरुरी रहेको बताए । ‘पार्टीभित्र नै नैतिक शक्तिको उत्थान गर्न जरुरी छ । हाम्रो पार्टीका यी चुनावहरु हाराफेरी देखापरेका छन्, जुन विकृतिको अखाडा बनाउन खोजिएको छ ती सबै कुराहरुबाट पार्टीलाई मुक्त गरेर एउटा स्वच्छ निर्वाचन, स्वच्छ प्रणालीको विकास गर्न सक्यौं भने तब मात्र लोकतन्त्र सार्थक हुन्छ,’ पौडेलले भने, ‘लोकतन्त्रलाई सार्थक पार्ने अभिभारा नेपाली कांग्रेसकै काँधमा छ । नेपाली कांग्रेस नै लोकतन्त्रकै लागि जन्मेको पार्टी हो । अहिलेको एजेण्डा नै लोकतन्त्रको रक्षा हो ।’

केपी ओलीको सरकारले संविधानलाई एकातिर लत्याएर संसद विघटन ग¥यो, त्यसले संविधान, विधिको शासनमाथि ठाडै हमला गरेको उल्लेख गर्दै नेता पौडेलले ओलीको कदमविरुद्ध कांगेस लडेर आज आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेको स्मरण गरे । ‘आज जुन सरकार हाम्रो पार्टीको नेतृत्वमा बनेको छ, संसद पुनःस्थापनको मुद्दाबाट  संघर्ष गरेर भएको हो,’ पौडेलले भने, ‘प्रतिगमन र अधिनायकवादतिर देशलाई लैजान खोज्ने, संविधानलाई भत्काएर अन्धकारतर्फ धकेल्न खोज्ने जुन दुस्साहस ओली सरकारले गरेको थियो,  त्यसविरुद्ध लड्ने जुन आन्दोलन सुरु भयो, त्यो आन्दोलनको परिणामस्वरुप हाम्रो पार्टीको सभापति प्रधानमन्त्री हुने अवसर पाउनुभएको छ ।’ 

कांग्रेसले विकृति र विसंगतिबाट पार्टी र राष्ट्रलाई अगाडि बढाउने, भ्रष्ट्राचार, कमीसनतन्त्र, सेटिङबाट राष्ट्रलाई मुक्त गरेर  निमुखा जनतालाई न्याय दिलाउने अवस्था सिर्जना गर्न सक्नुपर्नेमा पौडेलेको जोड थियो । कांग्रेसको समाजवाद भनेकै निमुखालाई न्याय, विपन्नलाई आय हो भन्दै नेता पौडेलले आज निमुखाको न्याय हराएको अति दलबन्दीले गर्दा सामान्यले न्याय पाउन नसकेको, दलभित्र पनि केन्द्रमा रहेका र पहुँच पुगेकाले मात्र न्याय पाउने गरेको उल्लेख गरे ।

‘यो दलीयताको विकृत रुप हो । त्यसकारण हामीले अति दलबन्दीबाट पनि देशलाई मुक्त गर्नुछ,’ उनले भने, ‘सामान्य नागरिकले पनि न्याय पाउने नेपाल बनाउन जरुरी छ ।’ पार्टीले आन्तरिक लोकतन्त्रलाई सबल बनाएर, पार्टीभित्र लोकतन्त्र संस्थागत गरेर कुनै पनि काम समयमा गर्ने, कुनै पनि काम नीति, विधि र पद्धतिसम्मत गर्ने, पार्टीले समयमा गर्नुपर्ने काम काम समयमा गरेर हामीले लैजान सक्यो भने पार्टीले मुलुकलाई केही देन दिन सक्ने नेता पौडेलको भनाइ थियो । 

पार्टीलाई कसरी एक, सक्षम, स्वच्छ छवि, निष्कलंक बनाएर अत्यन्त गौरवका साथ उभिने बनाउने आजको सबाल यिनै हुन् भन्दै नेता पौडेलले भने, ‘यिनै एजेण्डा लिएर कांग्रेस अघि बढ्नुपर्छ, कसैका एजेन्डा बोक्नुपर्दैन, एजेन्डाकै माध्यमबाट प्रतिस्पर्धा गर्न सक्छौं । प्रतिपक्षीलाई परास्त गर्न सक्छौं ।’

दलित, गरिब, दुःखी, किसान, थारु, उत्पीडित वर्गको प्रतिनिधि बनेर एजेन्डा बोकेर कांग्रेस अघि बढ्न सक्नेमा नेता पौडेलले विश्वास दिलाए । ‘यसका लागि गम्भीर बनौं, पेचिला समस्या समाधान गर्न गम्भीर भएर काम गरौं’, उनले भने, ‘ यही कुरा निष्ठापूर्वक गर्न सक्यौं भने हामी राजनीति र परिस्थितिलाई बदल्न सक्छौं ।’

नेता पौडेलले आज देशको परिस्थिति, कांग्रेसको नीति र कार्यक्रमबारे यो महाधिवेशनमा गम्भीर छलफल गर्नुपर्ने थियो तर सम्भव नभएको बताए । ‘हामीले काम गर्दा जुन किसिमको हेलचेक्य्राई ग¥यौं त्यसले गर्दा समयमा अधिवेशन गर्न सकेनौं । छलफल गरेनौं । एउटा व्यवस्थित अधिवेशनको जुन कार्यतालिका हुनुपर्ने थियो समयदेखि नै त्यो हुन सकेन । त्यसले गर्दा आज हडबडमा अधिवेशन सम्पन्न गर्नुपरेको छ,’ उनले भने ।


Author

थप समाचार
x