देउवा समूहका महामन्त्रीका आकांक्षी केन्द्रीय सदस्यमा निर्वाचन लड्दै, चौधरी र श्रेष्ठ आरक्षणबाट उम्मेदवार
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समूहबाट महामन्त्री पदको दौडमा रहेका नेताहरू बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखक केन्द्रीय सदस्य (३५ जना खुलातर्फ) मा मनोनयन गराएका छन् ।
गृहमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका खाण र कार्कीलाई देउवाले यसपटक आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए । सुदूरपश्चिका रमेश लेखकलाई पनि देउवाले यसपटक पार्टी पदाधिकारीमा ल्याउन सकेनन् ।
खाणले भने आफू महामन्त्री बन्न गृहमन्त्रीबाट राजीनामा दिन तयार रहेको देउवासँगको भेटमा बताएका थिए, तर देउवाले खाण र कार्की दुवैलाई आगामी महाधिवेशनमा पार्टीमा अघि बढाउने वचनवद्धता जनाएको बुझिएको छ ।
उनले वरिष्ठ नेता पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँगको सहकार्यमा उनको समूहबाट प्रदीप पौडेल र आफ्नो समूहबाट डा. प्रकाशशरण महतलाई महामन्त्रीको उम्मेदवार बनाएका छन् । देउवा समूहबाटै महामन्त्रीको आकांक्षामा रहेका सुदूरपश्चिमकै एनपी साउद पनि देउवा समूहको पदाधिकारीमा अटाएनन् ।
त्यस्तै, नेपाली कांग्रेसमा सक्रिय उद्योगपति, व्यापारीहरू विनोद चौधरी र राज्यमन्त्री समेत रहेका उमेश श्रेष्ठ आरक्षण कोटाबाट केन्द्रीय सदस्य लड्दैछन् । चौधरीले मधेशी कोटामा र श्रेष्ठले जनजाति कोटामा केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन् ।
‘मैले मेरा लागि जीवनमा देखेका अधिकांश सपना पुरा हुदै आएका छन्’, चौधरीले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘अब, मेरो बाँकी रहेको सपना भनेको नेपाललाई समृद्ध र स्वाभिमानी राष्ट्रका रुपमा चिनाउने हो ।’
चौधरी र श्रेष्ठ नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिका संयोजक र सहसंयोजक छन् । अरु दुई सहसंयोजकमध्ये इन्द्र बानियाँ बागमती प्रदेशको सभापति निर्वाचित भएका छन् भने दीपक खड्का संखुवासभा जिल्ला सभापति निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति चयनका लागि भोलि मतदान हुँदैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया