दल

कांग्रेस महाधिवेशनमा पनि हिन्दूत्वको कार्ड प्रयोग हुन लागेको हो ?

इकागज |
मंसिर २६, २०७८ आइतबार ९:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- भारतीय कम्युनिस्ट नेता जोगेन्द्र शर्माले नेकपा एमालेको महाधिवेशनका बेला भनेका थिए, ‘भारतको नरेन्द्र मोदी सरकार नेपालमा राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापना गराउन लागिपरेको छ ।’ सन् २०२५ सम्म मोदी सरकारले नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहेको उनको दाबी थियो ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी अहिले हिन्दूत्वको नारालाई महत्व दिएर अघि बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निर्वाचनका बेला हिन्दूत्वको कार्ड प्रयोग गरेर चुनाव जिते । नेपालमा पनि यसकै सिको भइरहेको छ । नेपाली राजनीतिमा चलिआएका, सुनाइएका एजेन्डाले ठाउँ नपाएपछि हिन्दूत्वको नारा प्रयोग भइरहेको छ ।


चितवन नै रामजन्मभूमी अयोध्या भएको दाबीका साथै पशुपतिमा सुनका जलहरी राख्‍न लगाएर ओलीले यसको सुरुआत गरे । अघिल्लो निर्वाचनताका पेश गरिएका चुनावी एजेन्डा अहिले पूरा नभएको सन्दर्भमा हिन्दूत्वको विषय उठान गरि राम्रो मतप्राप्त गर्ने ‘माइन्डसेट’मा राजनीतिक दलहरू छन् । यसैको सिको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पनि गरेको देखिन्छ । महाधिवेशन उद्घाटन सत्रमा पार्टीका महामन्त्री शंशाक कोइरालाले पनि खुलेरै धर्मनिरपेक्षता र हिन्दूत्वको बारेमा बोले । उनले भनेका थिए, ‘मेरो व्यक्तिगत धारणा छ, धर्म निरपेक्षता ठीक होइन । धर्म निरपेक्ष हुँदैन, न सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’

महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले पनि हिन्दू सेन्टिमेन्टलाई समाएर हिँड्न चाहेको हाउभाउ प्रकट गरेका छन् । उनको प्रचारप्रसारमा हिँडेका कार्यकर्ताहरू धेरैले घाँटीमा रुद्राक्षको माला र अबिर केसरीको टिका लगाएका छन् । स्वयंम प्रकाशमान पनि शनिबार मनोनयन दिन जाँदा रुद्राक्षको माला लगाएर दर्ता स्थल पुगेका थिए । उनी मात्र होइन, उम्मेदवारी दर्ता गराएर फर्किएपछि प्रकाशमानका कार्यकर्ताले महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मालाई रुद्राक्षको माला लगाइदिएका थिए । 

तर प्रकाशमान भने आफू धर्म निरपेक्षताकै पक्षमा रहेको र पार्टीमा धर्मलाई विषय बनाएर हिँड्न नचाहेको बताए । मनोनयन दर्ता गर्नु अगाडि केही कार्यकर्ताले पशुपतिमा गएर पुजा गरेर ल्याइदिएपछि आफूले रुद्राक्षको माला लगाएको बताए । ‘नेपाली कांग्रेसले धार्मिक स्वतन्त्रतामा विश्वास गर्ने पार्टी हो । सामुदायिक भावनालाई असर नपर्ने गरी कांग्रेसले धर्मलाई बहसको विषय बनाउँदैन,’ उनले भने ।


Author

थप समाचार
x