दल

कांग्रेसको महाधिवेशनमा मतदानका लागि ११ सय बुथको व्यवस्था

इकागज |
मंसिर २६, २०७८ आइतबार १८:९ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत सोमबार हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । 

मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको कांग्रेसले जनाएको छ ।  महाधिवेशनस्थल राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ/शुभेच्छुक/सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।  त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । 


भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ । मतदान सोमबार बिहान ८ देखि ५ बजेसम्म हुनेछ । 

निर्वाचनका लागि काठमाडौं प्रशासन कार्यालयको सुरक्षा समितिले सुरक्षा व्यवस्थालाइ चुस्तदुरुस्त राखेको जनाएको छ । मतदानमा सहभागी हुने मतदाता र उम्मेद्वार लगाएत मतदानको सम्पूर्ण सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो । महाधिवेशनका क्रममा ५ हजार सुरक्षाकर्मी परिचालन भएको र आवश्यक परे थपघट गर्न सकिने उहाले बताउनुभयो ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । 

पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । 


 


Author

थप समाचार
x