दल

कांग्रेस १४ औँ महाधिवेशन

मतदानस्थल चाहर्दै देउवा, धाँधलीको प्रयास भइरहेको आरोप

मतपत्र सकियाे भन्‍दै किन प्रभावित भइरहेको छ मतदान ?

इकागज |
मंसिर २७, २०७८ सोमबार २०:३२ बजे

काठमाडौँ : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा राती पनि राष्ट्रियसभा गृहको मतदानस्थल चाहरिरहेका छन् । लामो समय महेन्द्र पुलिस क्लबभित्र बसेका उनी त्यहाँबाट निस्किएर भृकुटीमण्डप र राष्ट्रियसभा गृहको मतदानस्थल बाहिर पुगेका हुन् ।

१४ औँ महाधिवेशनमा पनि सभापतिको उम्मेद्वारी दिएर चर्को प्रतिष्पर्धामा रहेका देउवा अबेर रातीसम्म मतदानस्थल वरपर हिँडिरहेका हुन् । देउवासँगै गृहमन्त्री बालकृष्ण खाण लगायतका मन्त्री पनि मतदानस्थल बाहिर हिँडिरहेका छन् । 


पुलिस क्लबबाट निस्केपछि भृकुटीमण्डपको मतदान केन्द्रको निरीक्षण गरेका उनी त्यसपछि राष्ट्रियसभा गृहमा रहेको मतदान केन्दमा पुगेका छन् । देउवाले भृकुटीमण्डपको मतदान केन्द्र अवलोकन गरेपछि पत्रकारलाई प्रवेश गर्न दिइएको छैन । फोटो खिच्ने पत्रकारलाई पनि जान रोकिएको एक पत्रकारले जानकारी दिए । 

रातीसम्म पनि देउवा मतदानस्थल वरपर हुनुले सभापतिका अर्का उम्मेद्वार शेखर कोइराला पक्षलाई सशंकित तुल्याएको छ । यस्तै कोइराला पक्षले चुनावमा धाँधलीको प्रयास भइरहेको आरोप लगाएको छ । पटक पटक मतपत्र सकिएको भन्दै मतदान प्रभावित पारेर धाँदलीको प्रयास भइरहेको कोइराला पक्षले आरोप लगाएको हो ।

मतपत्र सकिएको बाहना बनाएर फर्जी मतदानको प्रयास भइरहेको कोइराला पक्षको आरोप छ । यसअघि दुई पटक मतपत्र सकिएको भन्दै मतदान प्रभावित पार्ने कामप्रति कोइराला पक्षले आपत्ति जनाएको छ । चिसो रातीमा मतपत्र सकिएको भन्दै मतदान रोकिएपछि लाइन लागेका प्रतिनिधि पनि आक्रोशित भएका छन् । 


Author

थप समाचार
x