एमालेमा 'तरमारा इन', झापा क्रान्तिका खरेल 'आउट'
काठमाडौँ- नेकपा एमाले केन्द्रीय समितिको गठ्ठाघर बैठकमा पोलिटब्यूरो, स्थायी कमिटी र मनोनित केन्द्रीय सदस्य घोषित भएपछि कुनामा दुई नेता घनश्याम भुसाल र टंक कार्की गफमा मग्न भए । उनीहरूको गफको विषय थियो, ‘केन्द्रीय समितिमा मनोनित केन्द्रीय सदस्य दुर्गा प्रसाईं ।’
झापा विद्रोहका हस्ती नरेश खरेल ‘आउट’ हुनु र झापाकै बहुचर्चित व्यापारी दुर्गा प्रसाईं एमालेमा ‘इन’ भएको दृश्य तिनलाई जँचेन । भुसाल र कार्कीको व्यंग्यात्मक टिकाटिप्पणी चल्यो, ‘अब दुर्गा प्रसाईंको पार्टीमा हामी छौं । हाम्रो पार्टीमा दुर्गा प्रसाईं होइन ।’
झापा विद्रोहका एक हस्ती हुन्, नरेश खरेल । जसले १६ वर्ष ६ महिना जेल जीवन बिताएका थिए, अनि दुई वर्ष भूमिगत जीवन पनि । उनी बराबर जेल जीवन बिताएका घनेन्द्र बस्नेत चाहिँ नेकपा एकीकृत समाजवादीतिर लागे । ६८ वर्षीय खरेल चाहिँ एमाले केन्द्रीय समितिमा पनि अटाएनन् । खरेल २०७० मा एक पटक संविधानसभा सदस्यसम्म भए । त्यसभन्दा बढी उनलाई सुविधाको पद मिलेन । झापा विद्रोहका नेताहरू लाखापाखा लाग्दै थिए । एमालेमा ओलीसँग अन्तिमसम्म खरेल बाँकी थिए । तर, खरेललाई केन्द्रीय समितिमा नराखेपछि झापा विद्रोहका नेताहरू ओलीबाहेक अरु बाँकी रहेनन् ।
सुदूर पश्चिमबाट एमालेमा उदाउँदै गरेका दीपकप्रकाश भट्टले पनि केन्द्रीय कमिटीमा ठाउँ पाएनन् । उनी पनि एमाले अध्यक्ष ओलीविरोधी खेमाकै नेता हुन् । कञ्चनपुर–३ बाट प्रत्यक्ष निर्वाचित भट्ट ओलीको ‘एस म्यान’ नभएपछि भित्ता पुर्याइयो, जसलाई एमालेभित्र ‘अन्यथा’ ठानिँदैन । भट्ट २०४५ देखि अखिलको विद्यार्थी राजनीतिमा संलग्न भट्ट अन्तर्राष्ट्रिय मामिलाका विज्ञ मानिन्छन् । तर, उनले ओलीको बोलीमा असहमति राखेकै कारण उनलाई पार्टीको केन्द्रीय वृत्तमा कहीँ कतै ठाउँ दिइएन ।
त्यसरी नै प्रतिनिधि सभा दोसो विघटनपछि ओलीलाई ‘सघाऊ गर्न’ पुगेका कृष्णभक्त पोखरेल पनि किनारा लाग्ने पात्रमा परेका छन् । ओलीले २०७७ पुस ५ मा पहिलो चोटि प्रतिनिधि सभा विघटन गर्दा पोखरेल माधवकुमार नेपालतिर थिए । तर दोस्रो चोटि प्रतिनिधि सभा विघटन गरेपछि ‘अस्वाभाविक’ रुपमा ओलीतिर पुगेका थिए । अखिलबाटै राजनीति शुरु गरेका पोखरेल २०३७ मै स्ववियू सचिव थिए । २०४८ मा अनेरास्ववियूको केन्द्रीय सचिव थिए ।
उनी केन्द्रीय सचिव हुँदा जिल्लामा विद्यार्थी संगठनमा पाइला टेकेका झापाका हिक्मत कार्की स्थायी कमिटी मनोनित भए, तर पोखरेल चाहिँ केन्द्रीय समितिमा पनि अटाएनन् । अर्थात्, उनी पनि ओली पीडित बन्न पुगेका छन् । एमाले वृत्तमा उनलाई किनारा लगाइनुमा पूर्व माओवादी नेता रामबहादुर थापाको निर्वाचन क्षेत्र सुरक्षित गर्नु रहेको टिकाटिप्पणी चलेको छ ।
थापा र पोखरेल दुवैको गृहजिल्ला चितवन हो । एमाले चितवनका अध्यक्षसमेत रहिसकेका पोखरेल प्रभाव न्यूनीकरण अन्तर्गत शिकार भएका हुन् । ‘थापाको स्थान सुरक्षित गर्न पोखरेललाई पाखा लगाइयो’ एमालेका एक नेताको टिप्पणी छ, ‘तर, पोखरेलको बोली कसले बोल्ने ?’
ओली विरोधी खेमाका एक नेता भन्छन्, ‘यसलाई के अन्यथा लिनु र ? यो भन्दा बढी गर्छन् भन्ने लागेको थियो । पहिला ओलीको काम गराइ र व्यवहार सुनिएकै थियो । अब चाहिँ स्पष्ट हुँदै गएको हो ।’
त्यसो त, ओलीले गठ्ठाघर बैठक पटक–पटक ‘धैर्य गर्नुपर्छ’ शब्द उच्चारण गरेका थिए । आफू पार्टीमा पीडित हुनु परेको कहानी सुनाउँदै ‘मौका कुर्न’ आग्रह गरेका थिए । ओलीको भनाई उद्धृत गर्दै एक नेताले इकागजसँग भने, ‘धैर्य गर्नुस्, सबैले मौका र पालो पाउँछन् । आकांक्षी धेरै भएको हुँदा धैर्य गर्नुस्, पालो आउँछ ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै चुनाव लडेर चर्चामा आएका कीर्तिपुरका सुरेन्द्र मानन्धर पनि एमाले केन्द्रीय वृत्तमा अटाएनन् । उनी नअट्नुको कारणमा ‘दश बुँदे कित्ता’मा मत जाहेर गर्नु हो । उनी एमालेको संगठन बिस्तारमा डटिरहेकै थिए । ओली विचार अनुकूल नभएपछि उनी प्रतिकूल ठहरिन पुगे ।
कर्णालीका योगेन्द्र शाहीले पनि केन्द्रीय सदस्यमा ठाउँ पाएनन् । अनि श्रीमाया थकाली पनि पोलिटब्यूरोमा अटाइनन् । उनी आठौँ महाधिवेशनमा वैकल्पिक र नवौँ महाधिवेशनमा पोलिटब्यूरो सदस्य थिइन् ।
‘ओली नेता नभएर स्वेच्छाचारी शासकमा परिणत हुँदै गएपछिको परिणाम हो’ एमालेका एक नेता भन्छन्, ‘उहाँ र वरिपरिकै एकाध नेताको बिर्तामा एमाले परिणत गरिँदैछ । ओली लोकतन्त्रका धेरै कुरा गर्नु हुन्छ । तर, लोकतन्त्रमा फरक विचार र फरक मत हुन्छ भन्ने चाहिँ उहाँको शब्दकोषमा छैन । उहाँ ‘एस-म्यान’ र लीन पियाओवादी चाकडीमा मग्न हुनुहुन्छ । ती लीन पियाओवादीले ओलीलाई सक्छन् नै, एमाले पनि सक्ने भए ।’
अनि ओलीसँगै महाधिवेशनमा भिड्ने भीम रावल पनि कतै अट्ने सम्भावना पनि रहेन । उनलाई ओलीले कतै न कतै सामेल गराउँदै चित्त बुझाउँछन् कि भन्ने एमालेजनलाई लागेको थियो । तर, ओलीले महाधिवेशनकै बेला ओलीले प्रतिस्पर्धामा भिड्न आएपछि ‘परिणाम भोग्नुपर्छ’ भनेकै थिए, त्यसो हुँदा रावल ‘परिणाम’ भोग्दैछन्, भोग्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया