दल

देउवा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापति निर्वाचित

इकागज |
मंसिर २९, २०७८ बुधबार २:४ बजे

काठमाडौँ– नेपाली कांग्रेसको नेतृत्वमा पुनः एक कार्यकाल शेरबहादुर देउवाकै नेतृत्वले निरन्तरता पाएको छ । मंगलबार भएको दोस्रो चरणको मतदानमा देउवाले २७३३ मत पाएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धा गरेका शेखर कोइरालाले १८५५ मत पाए । ३५ मत बदर भएको छ । दोस्रो चरणको मतदानमा ४६२३ मत खसेको थियो ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणका लागि मतदान भएको थियो । पहिलो चरणको निर्वाचनमा देउवाले ४८.२४ प्रतिशत अर्थात् २,२५८ मत ल्याएका थिए ।


पहिलो चरणमा ४ हजार ६ सय ८१ मत खसेको थियो भने दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेको थियो । त्यसमध्ये सभापतिमा निर्वाचित हुन २,२८२ मत आवश्यक थियो ।  दोस्रो चरणमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ लगायतका पहिलो चरणका प्रतिस्पर्धीले देउवालाई समर्थन गरेपनि शेखरले पहिलो चरणमा पाएकोभन्दा १५३ मत बढाए । 

यससँगै देउवा दोस्रो कार्यकालका लागि सभापति बनेका छन् । उनको कार्यकाल पार्टीको विधान अनुसार ४ वर्ष र संविधान अनुसार पाँच वर्षभित्र गरिसक्नुपर्छ । देउवाले गठबन्धन सरकारको निरन्तरता र आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन आफू सभापतिमा निर्वाचित हुनैपर्ने बताउँदै आएका थिए ।

पहिलो चरणमा बहुमत पुर्‍याउन नसकेपछि देउवाले पहिलो चरणमा आफूसँग प्रतिस्पर्धा गरेका कल्याण गुरुङ्ग, प्रकाशमान सिंह, विमलेन्द्र निधिको समर्थन जुटाएका थिए । यसबाहेक उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेलको मौन समर्थन र महामन्त्री शशांक कोइरालाको खुला समर्थन रह्यो । अर्का वरिष्ठ नेता कृष्ण सिटौलाले पनि देउवालाई खुला रूपमै सघाएका थिए । 

सबैको साथ, सहयोग, पार्टी एकतामार्फत् विजयकुमार गच्छदार (उपसभापति) र सुनिलबहादुर थापा (सहमहामन्त्री) भित्र्याउँदा पनि देउवाले अर्का उम्मेदवार शेखर कोइरालासँग तीव्र प्रतिस्पर्धा गरे । कतिपय ठाउँमा क्रियाशील सदस्यता वितरणलाई नै लिएर विवाद भएका थिए ।

देउवा २०५७ सालमा सम्पन्न नेपाली कांग्रेसको १०औं महाधिवेशनदेखि सभापतिमा प्रतिस्पर्धा गर्दै आएका छन् । त्यसपछि उनी २०५९ असारमा प्रजातान्त्रिक कांग्रेस खोलेर सभापति बनेका थिए । उनी २०६४ असोजमा सम्पन्न पार्टी एकीकरणसँगै कांग्रेसतिर फर्केका हुन् ।

यद्यपि उनलाई सिंगो पार्टीको सभापति बन्न भने २०७२ सालसम्म पर्खनुपर्‍यो । २०७२ फागुनमा सम्पन्न नेपाली कांग्रेसको १३औं महाधिवेशनमा उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेर सभापति निर्वाचित भए । नेपाली कांग्रेसको विधान अनुसार लगातार दुईपटकभन्दा बढी नेपाली कांग्रेसको नेतृत्वमा रहनपाइँदैन ।

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनासँगै सुदूर पश्चिममा कांग्रेस जिताउने अभियानको  नेतृत्व लिएका देउवाले सुदूर पश्चिममा एक सिटबाहेक सबै क्षेत्रको निर्वाचनमा विजय गराउन सफल भएपछि उनको केन्द्रीय राजनीतिकै एकचोटि उचाई लिएको हो ।

देउवा २०४८ यता डेढेल्धुराबाट निरन्तर सांसदमा विजयी हुँदै आएका छन् । अर्थात्, देउवाले जिल्लामा पराजय भोग्नु परेको छैन । देउवा २०४८ गृहमन्त्री हुँदै भएपछि शक्तिको केन्द्रमा आइपुगेका हुन् । देउवाले १४औं महाधिवेशनमा पहिलो चरणमा नै सभापति बन्ने देउवाको चाहना पूरा भएन, उनका निम्ति ८२ मतको अभाव हुन पुग्यो । 

यसपालि कोइराला परिवार छिन्नभिन्न पार्दै देउवा नेतृत्वमा निरन्तर रहन सफल भएका छन् । डा. शेखर कोइरालालाई न वीपी पुत्र शशांकको साथ रह्यो, न गिरिजाप्रसाद कोइरालापुत्री सुजाताको । न देउवाविरुद्ध निरन्तर विरोधीमा कित्तामा रहेका रामचन्द्र पौडेलकै सहयोग रह्यो ।

नेपाली कांग्रेसबाट अलग्गिएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका देउवा २०६२ को ११औं महाधिवेशनमा नेपाली कांग्रेसमा थिएनन् । पार्टी एकतापछि उनले १२औं महाधिवेशनमा पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालासँग प्रतिस्पर्धा गरेका थिए । तीनपटकको पराजयपछि २०७२ मा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गरेका उनले त्यसयता नेपाली कांग्रेसको नेतृत्व कोइराला बाहिर ल्याएका छन् । 

सधैँभरि संस्थापन विरोधी खेमाको संज्ञाबाट विभूषित हुँदै आएका देउवा २०७२ फागुन अन्तिम साताबाट ‘संस्थापन पक्ष’को विरासत लिएका हुन् । 

७६ वर्षीय देउवा दलविहीन पञ्चायती व्यवस्था लागू भएपछि उक्त व्यवस्थाविरुद्धको आन्दोलनमा होमिँदै विद्यार्थीकालमै कांग्रेसको राजनीतिमा लागेका हुन् । उनी २०२८ मा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सभापति भएका थिए । उनले पञ्चायती व्यवस्थाविरुद्ध लागेको अभियोगमा ९ वर्ष जेल जीवन बिताएका थिए भने पटक–पटक प्रहरी हिरासत भोगेका थिए । उनी अहिले पाँचौ पटक प्रधानमन्त्री छन् । 


Author

थप समाचार
x