गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्छः भट्टराई
फाइल फाेटाे
काठमाडौँ - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हाल सरकारमा रहेका गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताएका छन् ।
समाजवादी प्रेस संगठनले आज आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले देशभित्र र बाहिर प्रतिगामी शक्तिको खतरा भएकाले गठबन्धनको निरन्तरतामा जोड दिएका हुन् ।
उनले एमससीसीलगायतका मुद्दामा गठबन्धनमा रहेका दलहरुबीच साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, 'सानासाना समस्याका कारणले पनि गठबन्धन भत्काउने खतरा छ ।'
अहिलेसम्मको हासिल भएको उपलब्धिको रक्षा गर्नुपर्नेमा पूर्वप्रधानमन्त्री भट्टराईको जोड छ । उन्नत समाज निर्माणका लागि सुशासन, लोकतन्त्र, समृद्धि हासिल गर्नुपर्ने उनले बताए । कोही पनि निजी स्वार्थमा लम्पसार भएमा अमेरिकादेखि छिमेकी दक्षिणपन्थी शक्तिसमेत हाबी हुने खतरा रहेको उनले औँल्याए ।
गत वर्ष पुस ५ गते भएको संसद् विघटन प्रतिगामी कदम भएकाले त्यसको विरोध गरेको र अझै पनि प्रतिगमन पूर्णरुपमा अन्त्य नभएको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप छ ।
विगतमा पनि पटक–पटक लोकतन्त्रमाथि प्रहार भएको र त्यसविरुद्ध नेपाली जनता लड्दै आएको उनको भनाइ छ । गत वर्ष पुस ५ गते भएको संसद् विघटनविरुद्ध दल, नागरिक समाज र पत्रकारलगायतले आवाज उठाएको उनले बताए ।
केही शक्ति अहिले नै उपलब्धि हासिल भइसकेको भनेर त्यसलाई जोगाउनमा जोड दिइरहेको पूर्वप्रधानमन्त्री भट्टराईले बताए । समाज यथास्थितिमा नबस्ने हुँदा उपलब्धि रक्षा गर्दै थप उपलब्धि हासिल गर्नुपर्नेमा उनले जोड दिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया