दल

भाइ-बहिनी मिलाउन नसक्दा चुनाव हारेँ : शेखर कोइराला

बाबुराम भण्डारी |
पुस १२, २०७८ सोमबार १८:११ बजे

विराटनगर - पार्टी सभापतिमा पराजितपछि सोमबार गृहजिल्ला मोरङ फर्किएका डा.शेखर कोइरालाले आफ्नो पराजयको कारण आफू पनि भएको स्वीकार्दै आफ्नालाई पनि मिलाउन, सम्झाउन र बुझाउन नसकेको बताएका छन् ।

विराटनगर विमानस्थलमा समर्थक र कार्यकर्ताहरुबाट गरिएको स्वागतपछि संचारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले आफ्नालाई नै मिलाउन नसकेको स्वीकार गरे । उनले भए गरेका कमजोरीबाट आफु नभाग्ने पनि बताए ।


‘मैले आफ्नो भाइबहिनीलाई मिलाउन सकिनँ, सम्झाउन सकिन, बुझाउन सकिनँ, मैले आफ्नो नेताहरुलाई पनि सम्झाउन सकिन, त्यहि मेरो कमजोरी भयो, मैले कमजोरी स्वीकार्नु पर्छ, म त भाग्न मिल्दैन’ उनले भने, ‘मैले हाम्रो परिवार बताउन सकिन होला, विपी कोइरालाले मेरो बुवालाई लेख्नु भएको पत्रको मर्मलाई वहाँहरुले बुझ्न सक्नुभएन होला, मैले बुझाउन सकिन होला ।’

डा.कोइरालाले पदको कुरामा मात्रै नभई धेरै कुरामा आफुले नेता कार्यकर्ताहरुलाई चित्त बुझाउन नसकेको र त्यसैको परिणाम उहाँहरु अर्कोतिर (देउवातिर) लागेको बताए । सभापति देउवाले २० औं नम्बरको बरियतामा राखेको विषयमा प्रतिक्रिया दिँदै उनले आफूलाई कार्यकर्ताहरुले माया गरेरै १ हजार ८५५ मत दिएकोले त्यसैलाई आफ्नो वरीयताका रुपमा स्वीकार्ने बताए ।

‘वरीयता क्रम त कार्यकर्ताहरुले राख्ने हो, कार्यकर्ताहरुले माया गरेर भोट दिएका छन्, त्यहि हो वरीयता, केन्द्रीय समितिले के गर्यो, सभापति जी ले के गर्नु भो, त्यो पद्धतिको कुरा हो’ उनले भने, ‘नेपाली कांग्रेसभित्र एउटा पद्धति छ वीपी कोइरालाको पालादेखिको, त्यो पद्धतिलाई उहाँहरुले पछ्याउनु भएको छ भने ठिक, छैन भने तपाँईहरुले बोल्नुहुन्छ ।’ 

कोइरालाले महाधिवेशनपछि कांग्रेसभित्र दुईटा पार्टी जस्तो कार्यकर्ताहरुले व्यवहार गर्न नहुने बताए । उनले आफु पनि यो भन्दा पहिले जे भूमिका खेलेको हो त्यसैको आधारमा व्यवहार गर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

आगामी दिनमा सभापति देउवाले कस्तो व्यवहार गर्नुहोला भन्ने प्रश्नमा उनले भने, ‘त्यो बेला पनि वहाँहरुले मैले भनेको कुरा सुन्नु भएको थियो, अहिले त झन एउटा समुह नै छ, ताकत लिएर म हिनेको छु, चिन्ता छैन ।’

महाधिवेशनमा आफुले उठाएको ‘एक पटक, यसैपटक’ भन्ने नारा अहिले पनि कायमै रहेको, तर समय, काल, परिस्थिति र कार्यकर्ताहरुको भावनालाई लिएर आफू अगाडि बढ्ने कोइरालाले बताए ।

आफू विधानतः कांग्रेसको पदेन केन्द्रीय सदस्य भएकोले आफ्नो प्राथमिकता स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन मै केन्द्रीय रहने बताए । उनले आफू अहिलेदेखि नै स्थानीय तहको चुनावमा केन्द्रीत हुने बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x