एमाले, कांग्रेस र माओवादी जनताका अगाडि मुख देखाउन लायक छैनन्ः अध्यक्ष लिङ्देन
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् ।
बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले, कांग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रुपमा जनताको अगाडी मुख देखाउन लायक नभएको बताएका हुन् ।
राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु आकारको हिसाबले ठूलो भएको उनले बताए । अध्यक्ष लिङ्देनले जनताले देश र धर्मलाई शिरमा बोकेर हिड्ने राप्रपा पार्टी नै खोजेको भन्दै पार्टी नेतृत्वले कुनै किसिमको कमीकमजोरी नगर्ने बताए ।
उनले भने, ‘अहिले राजनीतिक रुपले र नैतिक रुपले कांग्रेस, एमाले, माओवादीहरु जो आफूलाई यो देशको ठुलो पार्टी भन्छन् । उनीहरु जनताको बीचमा गएर मुख देखाउन लायक छैनन् । उनीहरु सँग कुनै आधार नै छैन । खाली हिजो कुनै कालखण्डमा हामीले ठिक ढंगले जनतालाई बुझाउन नसक्दाखेरी उनीहरुले ठुलो पार्टी हुने मौका पाए । उनीहरु आकारको हिसाबले ठुलो पार्टी भएकाले उनीहरुलाई पहिलो, दोस्रो, तेस्रो पार्टी भनिन्छ । फेरी दोहोर्याएर भन्छु, नैतिक रुपले, राजनीतिक रुपले उनीहरु जनताको अगाडि मुख देखाउन लायक छैनन् । यस्तो बेला देशलाई शिरमा बोकेर, धर्मलाई शिरमा बोकेर हिड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी जनताले खोजिराखेको पार्टीको रुपमा छ । हाम्रो तर्फबाट, नेतृत्वको तर्फबाट कुनैपनि प्रकारको कमी, कमजोरीहरु हुँदैन । तपाईहरुको शिर झुक्ने खालको कुनैपनि क्रियाकलाप हाम्रो तर्फबाट हुँदैन ।’
उनले विगतमा विभिन्न कारणले राप्रपा छोडेका र अन्य पार्टीमा भएर पनि राप्रपाको विचार मन पराउनेहरुलाई राप्रपामा आउन आव्हान गरे । राप्रपामा आउने सबैलाई योग्यता, क्षमता अनुसारको उचित सम्मान र अवसर प्रदान गर्ने उनको आश्वासन थियो ।
विगतमा भएका मानिसहरु मात्रै बसेर पार्टी नचल्ने भन्दै अध्यक्ष लिङदेनले अन्य पार्टीबाट ल्याएर जिम्मेवारी दिन नसके पार्टी ठूलो नहुने उल्लेख गरे।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया