उपाध्यक्ष कुशवाहासहित जनमत पार्टीका १३ जना पक्राउ
जनकपुरधाम - प्रहरीले डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहासहित १३ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । किसान आन्दोलनको तेस्रो दिन शुक्रबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्न खोज्दा प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट उक्त पार्टीका उपाध्यक्ष कुशवाहासहित ९ जना र कपिलवस्तुबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरेको विरोधमा चन्द्रनिगाहपुरमा जनमतका कार्यकर्ता र प्रहरीबीचकाे विवादले अवस्था तनावग्रस्त बनेको छ । त्यस्तै, पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासबरण गाउँपालिकामा जनमतका कार्यकर्ताहरुले गिट्टी लोड भएको ना ६ ख ७६२९ नम्बरको ट्रकमा आगजनी समेत गरेका छन् । किसान आन्दोलनलाई समर्थन जनाउँदै प्रदर्शन गर्दा कपिलवस्तुबाट समेत उक्त पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरिएको छ ।
प्रहरीले पार्टीका जिल्ला उपाध्यक्ष राम भुवन हरिजन, सचिव भगवानदास यादव, जिल्ला सदस्य शिवसुन्दर जैसवाल र एकजना किसान साहबदिन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको जनाइएकाे छ । जनमतका कार्यकर्ताहरुले आज धनुषा, बाँके, रुपन्देही, कपिलवस्तु लगायतका ठाउँहरुमा टायर बालेर सडक अवरुद्ध गरेकाे छ ।
पार्टी अध्यक्ष डाक्टर राउतले किसान आन्दोलनलाई दबाउन खोज्नु निन्दनीय रहेको भन्दै गिरफ्तार गरिएका आफ्ना सम्पूर्ण नेता कार्यकर्तालाई अविलम्ब निसर्त रिहा गर्न समाजिक सञ्जालमा आफ्नाे सचिवालयकाे पेजबाट माग गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया