दल

एमालेमा पूर्वमाओवादी:

मार्क्सवादले खारिएका नेतालाई गीता र रामायणले 'एडजस्ट' हुनै सकस

भुसालले ओलीलाई संस्कृत श्लोक सुनाउँदा माओवादी नेता ट्वाँ !

विनोद देवकोटा |
माघ २०, २०७८ बिहीबार ९:५१ बजे

काठमाडौँ- सर्वाेच्च अदालतबाट तत्कालीन नेकपा एकता/गठबन्धन बदरपछि एमाले-माओवादी ब्युँतियो । दुवै दल पूर्वास्थामा फर्किए । तर, सबै नेता पूर्वावस्थामा फकिएनन् । माओवादीका केही नेता एमालेतिर लागे । एमाले विभाजन भयो । रामबहादुर थापा नेतृत्वमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, मणि थापालगायत नेताहरू एमालेतिर लागे । उनीहरू अहिले पनि एमालेमै छन् । 

माओवादी आन्दोलनबाट स्थापित उनीहरूको ‘यूटर्न’ राजनीतिकरूपमा अस्वाभाविक थियो । तापनि ‘दोस्रो दर्ता’को एमाले बन्‍न हाम फाले । नाममा दुवै दल कम्युनिस्ट भए पनि पृष्ठभूमिका हिसाबले दुवैमा ‘आकास-पाताल’को भिन्‍नता अझै देखिन्छ, ‘उहाँहरू’ शब्द प्रयोग गरिरहनुले पनि । 


माओवादीको उपल्लो कमिटीमा रहेर काम गरेका नेताहरूलाई एमालेमा जिम्मेवारी पाउनै मुश्किल भयो । ढिलोगरी कतिपयले पाए । विगतमा एक अर्काविरुद्ध खरो प्रतिकारमा उत्रिनेहरूको राजनीतिक भान्सा एउटै भयो । भान्सा एउटै भएर के गर्नु अझैसम्म उनीहरूको खान्की मिलेको देखिँदैन ।

राजनीतिक जीवनको ऊर्जावान समय माओवादी ‘स्कुलिङ’मा बिताएकाहरूलाई पछिल्लो समय एमाले शैलीमा हिँड्न सकस परेको छ । यद्यपि एमालेमा व्यहोर्नु परेको सकसबारे उनीहरू सार्वजनिकरूपमा भने बोल्न आनाकानी गर्छन् । ‘अफ द रेकर्ड’ सकसको बेलिविस्तार सुनाउँछन् । 

‘हामी माओवादी प्रवेशीले आफूहरू एमाले भएको भान दिलाउन सकेका छैनौँ,’ माओवादीबाट एमाले बनेका एक नेताले इकागजलाई सुनाए, ‘उहाँ (एमाले)हरू र हामी फरक-फरक स्कूलिङका । अब ह्वात्तै तिनीहरूसँग ‘स्कूलिङ’ मिल्ने सम्भावना त छैन । अनि नवप्रवेश माओवादी र एमालेबीच धेरै भेद छ । त्यहाँ ‘एडजस्ट’ हुन नसक्ने स्थिति छैन, सजिलै ‘एडजस्ट’ हुन चाहिँ गाह्रो छ ।’ 

‘उहाँहरू’, ‘हामीहरू’ बीच ‘स्कुलिङ’ भिन्‍नताले ‘एडजस्ट’मा अप्ठ्यारो महसुस भएको अनुभव एमाले-घुलित एक पूर्वमाओवादी नेता सुनाउँछन् । ती नेतासँग आधा घन्टा कुराकानी हुँदा एमालेलाई ‘उहाँहरू’ शब्द प्रयोग गरिरहे । अर्थात्, ‘हामी एमाले’ प्रयोग गर्न सकेनन् ।

एमालेको संगठन पूर्वमाओवादी एमालेहरूलाई ‘ब्यूरोक्रयाटिक’ संगठनको जालो जस्तो लाग्‍न थालेको छ । एमाले राजनीतिकवादमा नभएर ‘संगठनवाद’ चलिरहेको उनको बुझाइ छ । ‘एमालेको तल्लो तहमा जनाधार धेरै राम्रो छ । उहाँहरूको जिल्ला तहमा परिपक्व मानिस छन्,’ एमाले स्थायी समिति सदस्यसमेत रहेका उनले भने, ‘तर उहाँहरूको संगठन भनेको ‘संगठनवाद’ जस्तो छ । हामीलाई त्यो त राजनीतिक संगठनभन्दा पनि ‘ब्यूरोक्रयाटिक’ संगठनको जालो जस्तो लाग्यो । एमालेमा आर्मी र पुलीस जस्तो संगठन देखियो । हाम्रो जस्तो देशमा पूरै ‘संगठनवाद’मा त देश चलाउन सकिँदैन नि ।’

तिनले माओवादीतिरबाट आएकाहरू चाहिँ अलिकति राजनीतिकरूपमा सञ्चालित हुन खोज्‍ने हुँदा समस्या पैदा भएको बताए । ती नेता भन्छन्, ‘उहाँहरू अलि प्राविधिक रूपमा चलेको पाइयो, राजनीतिक रूपले अलि कम ।’

एमालेमा असहज अनुभव गर्ने उनी एक्ला भने होइनन् । माओवादीबाट एमाले बनेका अधिकांशको भोगाइ उस्तै छ । अर्का एक केन्द्रीय सदस्य भन्छन्, ‘हामी माओवादीतिर हुँदा मार्क्सले के भने, लेनिनले के भने भन्‍ने जस्ता मार्क्सवादी साहित्य र तिनैका शब्द प्रयोग गर्ने बानी पर्‍यो । नयाँ पुँजीवादी साहित्यवालाहरूले के भन्दैछन् भन्‍ने अध्ययन गथ्र्यौँ । हामी त्यस्तै किसिमका साहित्यतिर बढी चासो राख्थ्यौं । तर यता एमालेमा महाभारत, रामायण, गीताका श्लोक हाबी भए जस्तो लाग्यो । त्यस्तो श्लोक नजानेको मानिस एमालेको मिटिङमै उपस्थित नभए हुन्छ जस्तो लाग्छ । हामी माओवादीहरू संस्कृत स्कुल जलाएर आएका पात्र पर्‍यौँ । रामायण त पढ्नै हुँदैन भन्यौं ।’

एमालेमा संस्कृतको श्लोकबाट वार्तालाभको एउटा रमाइलो प्रसंगसमेत उनले सुनाए । तत्कालीन नेकपा विवादताकाको प्रसंगले उनलाई अझै पनि झस्काउँदो रहेछ । नेकपामा ठूलो अन्तरविरोध चलिरहेको थियो । केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने तयारी पुष्पकमल दाहाल-माधव नेपालले गरिरहेका थिए । ओलीले एक दिन बिहानै छलफलमा बोलाए । छलफलमा सहभागी थिए एमाले नेता घनश्याम भुसाल, योगेश भट्टराईलगायत र केही पूर्वमाओवादी नेताहरू । 

तर घनश्याम भुसालले संस्कृत श्लोकबाट ओलीसँग वार्ता सुरु गरे । ‘घनश्याम भुसाल जस्तो अलि पढेको, आधुनिक साहित्य पढेको भनिएको नेताले श्लोकबाट वार्ता सुरु गरे,’ अहिले एमालेमा रहेका ती पूर्व माओवादी नेताले सम्झिँए, ‘हामी संस्कृत जलाउनेहरू कसरी ‘एडजस्ट’ हुने भन्‍ने समस्या त पर्ने नै भयो ।’

छलफलपछि पूर्वमाओवादीहरूले भुसाललाई सोधे, ‘किन तपाईं यसरी संस्कृतका श्लोकबाट भनाइ सुरु गर्नुभयो ?’ भुसालको जवाफ आयो, ‘हेर्नाेस्, तपाईंहरूले ओली कमरेडलाई बुझ्नु नै भएको रहेनछ । संस्कृतका श्लोकबाट सुरु गरियो भने ओलीका दिमागमा केही कुरा घुसाउन सकिन्छ । मैले संस्कृतका श्लोक प्रस्तुत गरेँ भने ओलीले पढेको रहेछ भन्‍ने बुझ्छन् । सिधै मार्क्सवादबाट सुरु गरेँ भने त यसले पढेको रहेनछ भन्‍ने ठान्छन् । मैले बाध्यतावश संस्कृत श्लोकबाट सुरु गरेको हुँ ।’

उनले आफूहरू पूर्वतयारीअनुरूप नभई काल परिस्थितिले एमाले बनेको सुनाए । आफूहरू धेरै चाहेर वा रुचाएर एमाले नबनेको उनको भनाइ थियो । ‘केवल ‘एक्सिडेन्टली’ घटनाकै कारण ‘त्यहाँ’ (एमाले) पुगेको हो । सरकारमै थियौंँ, ओली कमरेडलाई समर्थन गरियो । हुँदाहुँदै राजनीतिक रूपमै समर्थन गर्न पुगियो ।’ 
एमाले केन्द्रीय सदस्य प्रभु शाहले यसबारे बोल्न चाहनेनन् । यतिखेर समीक्षा गर्ने बेला नभएको भन्दै उनी प्रतिक्रियाविहीन बने । ‘समीक्षा गर्ने बेला भएको छैन,’ उनले भने, ‘हामी समीक्षा गर्ने ‘पोजिसन’मा छैनौँ ।’

एमाले स्थायी समिति सदस्य कर्णबहादुर थापा पार्टीभित्र कुनै मतभिन्‍नता वा मतान्तर नरहेको दाबी गर्छन् । मुद्दा र कामका सन्दर्भमा कुनै असहज स्थिति नभएको उनको भनाइ छ । तर, फरक पृष्ठभूमिबाट आएका पूर्वमाओवादी नेताहरूलाई कुनै विशेष सन्दर्भमा भने अलिकति अफ्ठ्यारो महसूस भएको हुनसक्ने उनले बताए ।

‘घटना, विषयबस्तु र परिवेशले फरक पर्ने कुरा भयो । वषौँदेखि एमालेमासँगै काम गरेकाहरूबीचमा त कत्रो किसिमको लफडा, विवाद, बहस र असहज स्थिति बनिराख्या छ,’ उनले भने, ‘त्यस हिसाबले भन्‍ने हो भने त अलि अलि अफ्ठ्यारो, असजिलो परेको हुनसक्छ । तर, पछिल्ल्लो मुद्दा र कामका सन्दर्भमा असहज स्थिति छैन । उहाँहरू सबैले सहजै रूपमा जबजलाई स्वीकार्नुभएको छ । मूल नेता केपी ओलीलाई भन्‍नुभएको । कुनै पनि विषयवस्तुमा मतभिन्‍नता, मतान्तर वा असन्तुष्टि वा चित्त दुखाइ देखापरेको छैन ।’ 

‘संगठनवाद’को सन्दर्भमा भने उहाँ (पूर्वमाओवादी)हरूलाई केही भिन्‍न लागेको हुनसक्ने उनले बताए । ‘उहाँहरू एउटा नेताले भनिसकेपछि अरु सबैले चित्त नबुझे पनि मान्‍ने पृष्ठभूमिबाट आउनुभयो,’ उनले भने, ‘अलिकति आदेशात्मक कुरालाई पार्टी जीवनको महत्वपूर्ण सन्चालनको विधि बनाउनु भएको रहेछ । हामीलाई पनि भन्‍नुहुन्छ । हामी त नेताले भनिसकेपछि मान्‍नैपर्ने कुरा हो । यहाँ त कतिपय नेताले भने पनि नहुँदो रहेछ । यहाँ त विधि, प्रणालीभन्दा पनि निर्णय गर्न गाह्रो भनेर सुनाउनुहुन्छ । मूलभूतरूपमा अफ्ठ्यारो खालको परिपस्थिति परेको छैन ।’


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x