दल

एमसीसीबारे इश्वर पोखरेलको टिप्पणी

‘संसदमा पेश भएको चिज नल्याउने को हो ?’

बाबुराम भण्डारी |
माघ २९, २०७८ शनिबार २०:२३ बजे

फाइल फोटो

विराटनगर : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले संसदमा पेश भइसकेको मिलेनियम च्यालेन्च कर्पोरेशन एमसीसीको नेपाल कम्याक्ट सम्झौताका बिषयमा एमालेले संसदभित्रै आफ्नो ‘पोजिशन’ स्पष्ट पार्ने बताएका छन् । उनले पेश भएको कुरालाई संसदमा नल्याउनेलाई चिन्नुपर्ने भन्दै सभामुख अग्नीप्रसाद सापकोटातिर औंला सोझ्याए । 

शनिबार विराटनगर आइपुगेका बरिष्ठ उपाध्यक्ष पोखरेलले विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै गठबन्धन दलका नेताहरुकै कारण एमसीसीको बिषय गिजोलिएको आरोप लगाए । उनले गठबन्धन दलका नेताहरुले जस्तो एमालेले अन्तरविरोधमा नखेल्ने र संसदमा प्रवेश गराइए आफ्नो ‘पोजिशन’ स्पष्ट पार्ने बताएका छन् । 


केपी ओली नेतृत्वको एमाले सरकार अघिल्लै सरकारको अविछिन्न उत्तरधिकारवाला सरकार भएकोले सम्झौतालाई संसदमा लगिएको जिकिर गरे ।
‘हिजो केपी ओलीको सरकारको पालामा हामीले औपचारिक रुपमा संसदमा दर्ता गरेका हौं, हिजो सम्झौता गर्नेहरु जो छन्, अहिले गठबन्धनको पालामा पनि वहा“हरु नै हुनुहुन्छ, वहा“हरुको पालामा भएको हो त्यो सम्झौता’ पोखरेलले भने, ‘हामीले अविछिन्न उत्तराधिकारवाला सरकार भएकोले सम्झौतालाई संसदमा टेबुल गरेका हौं, टेबुल गरेको चिजलाई नल्याउने को हो त्यो बुझ्नुपर्यो ।’ 

उनले एमसीसीलाई संसदमा प्रवेश गराइए एमालेले आफ्ना सवै कुरा प्रष्ट र खुलस्त पार्ने दाबी गरे । सरकारमा बसेका दलहरुले जस्तो कार्यकर्तालाई एउटा कुरा भन्ने, जनतालाई अर्को कुरा भन्ने काम एमालेले नगर्ने बताए । पोखरेलले प्रचण्ड र देउवाले एमसीसीलाई पठाएको पत्रले स्वयम् उनीहरुको मात्रै नभई नेपालकै बेइज्जत गराएको टिप्पणी गरे । उनले उक्त चिठीको जवाफदेही दाहाल र देउवा नै हुनुपर्ने बताए । 

उनले एमालेको पोजिसन थाहा पाउने हो भने पहिले संसदमा पेश गर्न सरकारलाई आग्रह गरे । राष्ट्रिय मुद्दाहरुमा पहिले सरकारले आफ्नो औपचारिक ढंगले पोजिसन बनाउनु पर्ने भएपनि त्यसका बारेमा गठबन्धनको सरकार बोल्दै नबोलेको आरोप लगाए । 

‘पुष्पकमलको कुरा बुझ्ने कि, माधव नेपालको कुरा बुझ्ने कि, शेरबहादुरको कुरा बुझ्ने कि कसको कुरा बुझ्ने, गठबन्धनले ‘फर्मल पोजिसनमा’ ल्याउनु पर्यो’ उपाध्यक्ष पोखरेलले भने, ‘संसदमा ल्याएपछि हामी एमालेहरु बाहिर भाग्दैनौं, लुक्दैनौं, आफ्नो पोजिसन प्रष्ट पार्छौं, तर पहिले ल्याउनु पर्यो ।’
उनले केपी ओलीको सरकार ढाल्ने अपराधिक योजनाका लागि मात्रै गठबन्धनको सरकार बनेको आरोप पनि लगाए । 

पोखरेलले प्रचण्ड पार्टी कब्जाको नीतिमा लागेकोले नेकपा विभाजन भएको पनि आरोप लगाए । घोषित मितिमा निर्वाचन हुनुपर्नेमा एमाले अडिग रहेको बताए । उनले भने, ‘संविधान कानुनको व्यवस्था अनुसार निर्वाचन हुनुपर्यो, त्यसलाई टार्ने कोसिस हुन्छ भने हामी कुनै हालतमा मान्दैनौं ।’
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x