एमसीसीबारे दाहाल, नेपाल र खनालबीच छलफल
काठमाडौँ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले एमसीसीको विषयमा छलफल गरेका छन् ।
नेकपा एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एमसीसीको बारेमा छलफल भएको हो ।
छलफलमा एमसीसीको बारेमा आफ्नो पार्टीले बिना संशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरुलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्ने ह्वीप दिने सम्मानित नेता खनालले बताए । उनले एकीकृत समाजवादी शुरुदेखि नै परिमार्जन बिना एमसीसी पास गर्न नदिने पक्षमा रहेको बताए ।
सम्मानित नेता खनालले भने, ‘सामाजवादीको स्ट्याण्ड शुरुदेखि अन्तिमसँग क्लियर छ नो एमसीसी । विथ आउट एनी चेन्ज अर एमेनमेण्ट नो एमसीसी । हामी दुई पार्टीहरु जहिलेसुकै पनि एउटै स्ट्याण्डमा छौँ । त्यो भनेको परिमार्जन बिना संशोधन बिना हामी एमसीसी पास गर्दैनौँ ।’
त्यस्तै बैठकमा सहभागि नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले एमसीसीको विपक्षमा मतदान गर्ने कुरामा छलफल भएको बताए । उनले संसदमा हुने एमसीसीको छलफलमा भाग लिने र त्यसको लागि सभामुखलाई संसदमा भइरहेको अवरोधलाई हटाउनका लागि आग्रह गर्ने पनि बताए ।
नेता गुरुङले भने, ‘एमसीसीको विपक्षमा मतदान गर्ने भन्ने कुरा छँदै छ । तर अहिले सदन अवरुद्ध भइरहेको अवस्थामा छलफल गर्ने वातावरण छैन । डेमोक्रेसी नम्सको प्रक्रियाअनुसार नै छलफल गर्नुपर्छ । राष्ट्रिय विषयमा सबै संसदहरुले बोल्ने चान्स पाउनु पर्ने हुन्छ । यही विषयमा सबैसँग सभामुख लगायतसँग छलफल गर्ने कुरा भएको छ ।’
सरकारले गत फागुन ८ गते एमसीसी छलफलका लागि संसदमा पेश गरिसकेको छ । सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नका लागि संसदमा पेश गरेपनि सत्तारुढ दलहरु नै एमसीसीको विपक्षमा उभिएका छन् ।
एमसीसी यथा स्थितिमा पास गर्नु नहुने भन्दै सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी विरुद्ध आन्दोलन गर्दै आएको छ । त्यस्तै सत्तारुढ अर्को दल राष्ट्रिय जनमोर्चाले एमसीसी नेपालको हीतमा नभएको दाबी गर्दै कुनै पनि हालतमा एमसीसी पास गर्न नुहने अडान राख्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया