दल

म एमसीसीको पक्षमा छु, द्वैध चरित्र प्रदर्शन गर्दिनँः सांसद त्रिपाठी

इकागज |
फागुन १२, २०७८ बिहीबार १३:७ बजे

फाइल फाेटाे

काठमाडाैँ- स्वतन्त्र सांसद् हृदयेश त्रिपाठीले आफू एमसीसी सम्झौताको पक्षमा उभिने बताएका छन् । एमसीसी माग गर्ने डा. बाबुराम भट्टराईको सरकारमा पनि आफू मन्त्री रहेको र यसलाई संसदमा दर्ता गराउने पूर्ववर्ती केपी शर्मा ओलीको सरकारमा पनि मन्त्री रहेकोले नैतिक हिसाबले पनि आफू यसको पक्षमा उभिने बताएका हुन् ।

‘फेरि अमेरिकासँग हामीले दीर्घकालीन सम्झौता गरेका होइनौं, यो त विकास परियोजना हो,’ उनले भने, ‘परियोजनाको अवधि समाप्त भएपछि यो सम्झौता बहाल रहने पनि होइन । विकास परियोजनामार्फत् केही काम हुन्छ भने पनि यो त साह्रै सकारात्मक विषय हो ।’


त्रिपाठीले यस सम्झौता ‘मेरिट’ का आधारमा पनि सकारात्मक रहेको र आफैं सरकारमा छँदा माग गरेको र आफैं सहभागी सरकारले अनुमोदनका लागि संसदमा दर्ता गराएकाले आफूबाट दोहोरो चरित्र प्रदर्शन नहुने बताए । एमसीसी सम्झौता ८ फागुनमा संसदमा पेस भएको छ ।

यसबारे आज पनि संसदमा छलफल हुने छ । एमसीसीमा खास गरी अहिले सत्ता गठबन्धनभित्रका दलले द्वैध चरित्र देखाइरहेका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारमा पनि बस्ने र अर्कोतर्फ सडक पनि तताउने गरिरहेका छन् । यसले एमसीसीलाई झन् पेचिलो बनाएको छ ।


Author

थप समाचार
x