संसद् बैठक स्थगित भएपछि देउवा–ओली ‘चिट्–च्याट’
काठमाडौँ– बिहीबार संसद बैठक अघि माओवादीले एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने सन्देश गठबन्धनकै एक प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजलाई संसद बैठक सार्न सभामुखलाई आग्रह गरे ।
बुधबारसम्म माओवादी मन्त्रीहरूले साथ दिने, माओवादीका केही सांसदले बहिष्कार गरेपनि एकीकृत समाजवादीका मन्त्री र बहुसंख्यक सांसदले पक्षमा मत दिने, जनता समाजवादीबाट बहुसंख्यक सांसदलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी सम्झौताको पक्षमा मतदान गराउने, लोकतान्त्रिक समाजवादी तथा स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले पनि सघाउने भएपछि प्रधानमन्त्री देउवा एमसीसी अनुमोदन हुनेमा ढुक्क थिए ।
तर बुधबार नै अध्यक्ष दाहालले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर कुराकानी गरेपछि सापकोटाले एमसीसी सम्झौता प्रस्तावलाई नै मतविभाजनमा लैजाने संकेत गरे । संसदको ठूलो दल एमालेले संसदको प्रक्रियामा भाग नलिई अवरोध गरिरहेको र माओवादीले विपक्षमा जाने भनेपछि देउवाले एमसीसी सम्झौतालाई अनुमोदनका लागि निर्णयार्थ लैजाने चरणमा परिपक्व ढंगले सदनमा प्रस्तुत हुन खोजिरहेका छन् ।
संसदमा प्रायः सबै सांसद पुग्न थालिसकेपछि संसद बैठक स्थगित भएको थियो । बैठक स्थगित भएपछि देउवाले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की समेतलाई लिएर प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग कुराकानी गरेका छन् । ओलीसँग एमालेका नेताद्वय ईश्वर पोखरेल र सुवास नेम्वाङ उपस्थित थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया