दल

डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा राख्न मन्त्रालयको चिठी

इकागज |
फागुन १३, २०७८ शुक्रबार १८:४८ बजे

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकामा पालिका मुकामको विषयलाई लिएर लामै समय विवाद चल्यो । करिब १७ महिना जति वडा नम्बर ४, ५, ६ र ७ का स्थानीयवासीले आन्दोलन गरे । यी चार वडाका कार्यालयमा ६ महिनासम्म तालाबन्दीसमेत गरियो । राँके जुलुस, टायर बाल्ने तथा दैनिक नाराबाजी गर्नेसम्मका क्रियाकलाप भए । एकातिर आन्दोलन जारी रह्यो भने, अर्कोतिर सर्वोच्च अदालतमा मुद्दा दायर भयो । तर, यसैबीचमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आन्दोलनकारीकै पक्षमा सचिव स्तरीय निर्णय भएको पत्र पठाएको छ । 

राज्य पुर्नसंरचना आयोगले डिलाशैनी गाउँपालिकाको केन्द्र वडा नम्बर ७ को धामीगाउँमा तोकेको थियो । निर्वाचनका सबै प्रक्रिया उतैबाट सम्पन्न भएका थिए । निर्वाचनपछि केही समय धामीगाउँबाटै पालिकाका सेवा प्रदान गरिए पनि धामीगाउँ दुर्गम भएकाले कर्मचारी नबस्ने, सडक, विद्युत तथा इन्टरनेटको असुविधाका कारण काममा असहजता भएको भनी वडा नम्बर ३ को पंसेरामा सम्पर्क कार्यालय राखियो ।


सम्पर्क कार्यालय राखेको केही समयपछि गाउँसभाको दुई तिहाइ बहुमतले स्थायी केन्द्रसमेत वडा नम्बर ३ मै तोक्यो । उक्त निर्णयको विरुद्धमा आन्दोलन भएको थियो । तर, १३ फागुनमा आएको सचिव स्तरीय निर्णयपछि पालिका केन्द्रको विवाद टुंगिएको छ । तर, गाउँसभाको दुई तिहाइ बहुमतले गरेको निर्णय के हुने भन्ने निश्चित अझै छैन । 

अहिले भने गाउँपालिकाले आफ्ना सेवा वडा नम्बर ३ को पंसेराबाटै दिइरहेको छ । गाउँ कार्यपालिकाले २०७७ मंसिर २१ गते केन्द्र हेरफेर गरी पङसेरामा राख्न सरकारलाई पत्र पठाएको थियो । फाइल मन्त्रिपरिषद् बैठकमा पेस भए पनि हेरफेर सम्बन्धी कुनै निर्णय नभएकाले राजपत्रमा उल्लेखित साबिक डिलाशैनी गाविसकै भवन (धामी गाउँ) बाट कार्य सञ्चालन गर्न मन्त्रालयले भनेको छ ।

राजपत्रमा उल्लेखित स्थानमा केन्द्र नराखेर नेताहरूले आफूलाई पायक पर्ने पङसेरामा सारेको भन्दै युवाहरूले डिलाशैनी न्यायिक आन्दोलन गरिरहेका थिए ।

त्यो आन्दोलनको अगुवाइ गरिरहेका अनेरास्ववियुका केन्द्रीय उपमहासचिव गोविन्द गिरीका अनुसार मन्त्रालयले केन्द्र विवाद टुंगो लगाउँदै पालिकाको फाइल फिर्ता गरेको छ । ‘ठूलो भूगोल र जनसंख्यालाई वेवास्ता गर्दै नेताहरूले आफ्नो पायकमा केन्द्र सार्न खोजेका थिए,’ उनले भने, ‘मन्त्रालयको यो निर्णयले सम्पूर्ण डिलाशैनीबासीलाई न्याय मिलेको छ ।’ 

विवाद चर्किएपछि अदालतमा मुद्दासमेत परेको थियो । मुद्दा पनि फिर्ता लिएको र आजैबाट आन्दोलनका कार्यक्रमसमेत स्थगित गरिएको नेता गिरीले बताए । गाउँपालिकाको केन्द्र धामीगाउँमै राख्ने निर्णय मन्त्रिपरिषद्‍बाटै भएको युवासंघ नेता सन्तोष प्रकाश जोशीले बताए । पालिका केन्द्रसँगै १५ शय्याको अस्पतालका साथै अन्य सरकारी संरचनासमेत धामीगाउँ मै बन्ने उनको दाबी छ ।


Author

थप समाचार
x