एमसीसी चाहियो भनेर अमेरिकालाई मैले पत्र लेखेकाे छैन : झलनाथ खनाल
काठमाडाैँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गरेका छन् ।
शुक्रवार नेकपा एससम्बद्ध जनसंगठनद्वारा आयोजित एमसीसीबिरुद्ध खबरदारी सभामा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहिले प्रतिगामी शक्तिहरुले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको भन्दै त्यो सरासर झुटो भएको बताए ।
एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले आज पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्दै खनालको प्रधानमन्त्री कार्यकालमा एमसीसी चाहियो भनेर पत्र लेखिएको बताएका थिए । नेता खनालले आफ्नो कार्यकालमा एमसीसीसँग कुनै कुरामा पत्र लेखेको डकुमेण्टहरु लिएर आउन पनि चुनौति दिए । उनले एमसीसीलाई पत्र लेख्ने कुरा डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि सुरु भएको र यो कुरा दिउँसोको भाम जत्तिकै छर्लङ्ग रहेको बताए । नेता खनालले अहिले देशमा अर्कोले गल्ती गर्यो म पनि गल्ती गर्छु भन्ने ढंगले राष्ट्रघाती कदमहरु चालिएको आरोप लगाए ।
नेता खनालले भने, ‘एमसीसी त्यतिबेला जुन सरकारले सम्झौता गरेको थियो । यो एमसीसी सम्झौता त झलनाथ खनालको प्रधानमन्त्रीको कालमा पो शुरुवात भएको हो । उसले पो चिठि लेखेर यो कामको थालनी गरेको हो भन्ने कही मूर्खहरुले यसरी प्रचारप्रसार गरिरहेका छन् । यो १०० प्रतिशत मात्रै होइन एक लाख प्रतिशत झुटो कुरा हो । म प्रधानमन्त्री भएको बेलामा प्रधानमन्त्रीको कार्यालयबाट कुनै न कुनै चिठी लेखेको छु, न कुनै अनुरोध गरेको छु ।'
एमसीसी सम्झौता गर्ने कुरामा सुरुदेखि नै मेराे कुनै संलग्नता नरहेकाे बताए । उनले भने, 'त्यो बेलामा हामी त्यो हैसियतमा पनि थिएनौँ । त्यतिबेला हामी संविधान बनाउन केन्द्रित थियौँ । त्यो भन्दा पछाडि जुन सरकार बन्यो, सायद भित्रभित्रै त्यसका कार्यहरु हुँदै थिए । एमसीसी ल्याउनको लागि डा. बाबुराम भट्टराईको पालाबाट चिठी लेखेर त्यो सुरुवात भएको कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ । यसलाई कसैले छोपेर छोप्न सक्दैन । मेरो कार्यकालमा कुनै कुराहरु भएको छ भने त्यो डकुमेण्ट लिएर आउन म चुनौती दिन्छु । तैँले गल्ती गरिस् मैले किन गल्ती गर्न नहुने भन्ने ढंगले राष्ट्रमाथि घात गर्ने खालका प्रयत्नहरु हुँदैछन् ।’
नेता खनालले छिमेकी राष्ट्रलाई रुष्ट बनाएर टाढाको मुलुकलाई रिजाउन खोजे त्यो भन्दा ठूलो दुर्भाग्य नेपालका लागि अरु कुनै नहुने दाबी गरे । उहाँले छिमेकी राष्ट्रहरुलाई रुष्ट बनाउँदा युक्रेनको जस्तो दुर्भाग्य नेपालले पनि खेप्नु पर्न सक्ने बताए । उनले छिमेकी देश चीन र भारतका बिरुद्ध नेपालमा कुनै पनि गतिविधि भए नेपालको अस्तित्वमाथि खतरा पैदा हुने भन्दै चिन्ता व्यक्त गरे । नेता खनालले अमेरिकाको दादागिरीको युग सकिएको भन्दै बिना संशोधनको एमसीसी नेपाललाई नचाहिने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया