स्थानीय तह निर्वाचनका लागि रसुवामा तयारी सुरु
रसुवा – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रसुवाले तयारी सुरु गरेको छ । निर्वाचनको प्रक्रिया अन्तर्गत कार्यालयले प्रारम्भिक चरणका कार्यक्रमहरु सुरु गरेको हो ।
निर्वाचनको तयारी स्वरुप जिल्लामा सरोकारवाला निकायसँग अन्तक्रिया कार्यक्रम गरि मतदाता नामावली अद्यावधिक (दावी बिरोधसमेत) का कार्यक्रम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।
त्यसका लागि जिल्लाका पाँचवटै गाउँपालिकामा मतदाता नामावलीको विवरण पठाईसकेको छ । उक्त मतदाता नामावलीको विवरण यही फागुन १९ गते ५ वटै गाउँपालिकाको २७ वटा वडामा प्रकाशित गरिने भएको छ । मतदाता नामावली अद्यावधिकका लागि यही फागुन २० देखि २२ गते तिन दिन तोकिएको छ । यो अवधिमा मतदाताहरुले अनुसुचि फारम आफनो नामावलीमा भएको विवरण सच्चाउन सकिने बताइएको छ ।
मतदाता नामावली अद्यावधिक कार्यक्रममा मृत्यु भएका, बसाईसराई गरि गएका, विवाह दर्ता भएका, दोहोरो नाम भएकाहरुको नामावली अद्यावधिक, (दाबी बिरोध समेत) हुने बताइएको छ ।
‘प्रकाशित भएको मतदाता नामावलीमा सच्चाउनुपर्ने, हटाउनुपर्ने, दाबी बिरोध गर्न सकिन्छ, यसका लागि तिन दिनको समय छ, अनुसुचि फारम भरेर सच्चाउन सकिन्छ, थापाले भने, अद्यावधिकमा आएका विवरणहरु निर्वाचन कार्यालयमा प्राप्त भएपछि अध्ययन गरि नाम सच्चाएको, हटाएकोबारे सुचना निकालेर २६ गते निर्वाचन आयोगमा पठाउछौँ ।'
त्यसैगरि मतदाता परिचयपत्र हराएकाको हकमा भने वडाको सिफारिस, नागरिकताको प्रतिलिपी, र निवेदन निर्वाचन कार्यालयमा दिन सकिने जनाइएको छ । त्यसका लागि यही फागुन २० गते भित्र निर्वाचन कार्यालयमा प्रत्यक्ष उपस्थित भई तथा इमेल मार्फत निवेदन दर्ता गराउन सकिने भएको छ ।
त्यसैगरि कार्यालयले निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र निर्धारण गरिसकेको जनाएको छ । गत वर्ष नै जिल्लामा ५२ वटा मतदान केन्द्र र ३४ वटा मतदान स्थल निर्धारण गरिसकेको थापाले बताए । स्थानिय तथा संघमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सक्किदैछ ।
२०७८ माघ २४ गतेसम्म संकलन भएका मतदाता नामावली अनुसार जिल्लामा ३८ हजार ७ सय जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया