दल

फरार प्रदेश सांसद खातुन सुटुक्क संसदमा

बाबुराम भण्डारी |
फागुन १५, २०७८ आइतबार १८:४३ बजे

विराटनगर - प्रहरीको फरार सूचिमा रहेकी प्रदेश सांसद गुलेफुन खातुन आइतबारको प्रदेशसभा बैठक चलिरहँदा सुटुक्क संसद सचिवालय प्रवेश गरेर हाजिरी गरेकी छन्। फौजदारी मुद्दामा जिल्ला र उच्च अदालतबाट दोषी ठहर भएपछि फरार रहेकी सांसद खातुन प्रदेशसभाको बैठक हलमा प्रवेश नगरी हाजिर गरेर बाहिरिएकी हुन्।

उनले संसद सचिवालयमा प्रवेश गरेर दुई मिनेटभित्र हाजिर गरेर निस्किएकी थिइन् । हाजिर गरेपछि संसद सचिवालयको मुल गेटमा मोटरसाइकलमा पर्खिरहेका एक व्यक्तिसँगै मोटरसाइकलमा उनी त्यहाँबाट हिडेकी थिइन् । सांसद खातुनले आइतबारको प्रदेश सभा बैठक चलिरहँदा सचिवालयका कर्मचारीलाई आफू हाजिर गर्न आएको बताएकी थिइन् ।


सचिवालयका कर्मचारीले सांसद नै हो कि होइन भनेर छोपिएको अनुहार देखाइदिन आग्रह गरेपछि उनले आफ्नो अनुहार देखाएकी थिइन् । कर्मचारीले सांसद नै भएको यकिन भएपछि हाजिरी कितावमा हाजिर गराएका थिए । सांसद खातुनले संसद सचिवालयमा आएर हाजिर गरेको संसद सचिवालयलेसमेत पुष्टि गरेको छ । प्रहरीले पक्राउ गर्ने डरले उनी आँखा छलेर यसअघि पनि संसद सचिवालय आउने गरेको जनाइएको छ ।

भर्खरै भएको राष्ट्रियसभा निर्वाचनमा उनलाई पक्राउ गर्न मुख्यमन्त्री राजेन्द्र कुमार राई नेतृत्वको वर्तमान सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । तर उनी फरार भएका कारण प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

त्यसैगरी मुख्यमन्त्री भीम आचार्यले गत कात्तिक १५ गते प्रदेशसभाबाट विश्वासको मत लिने बेलामा समेत एमालेले उनलाई ल्याउनसक्ने भन्दै प्रहरीमार्फत उनको निगरानी भएको थियो । सरकारी कागजात किर्ते जालसाजी मुद्दामा दोषी देखिएकी सांसद खातुनलाई आइतबार भने एमालेकै सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलाबल्लभ अधिकारीले सचिवालयभित्र ल्याएका थिए । हाजिर गरेर निस्किएपछि उनलाई अधिकारीले नै गेटसम्म लगेर छोडेका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x