'व्याख्यात्मक टिप्पणी'ले एमसीसी परिमार्जन पनि गर्दैन, अमेरिकाले मान्नु पनि पर्दैन- मिनेन्द्र रिजाल
विराटनगर- नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले एमसीसी सम्झौता कुनै नेताले पनि ढंगले नपढेको दाबी गर्दै संसदबाट पारित भएको व्याख्यात्मक घोषणाले उक्त सम्झौता परिमार्जन नहुने र अमेरिकाले त्यसलाई मान्छु वा मान्दिन भनेर भनिरहनु नपर्ने बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै पुर्व रक्षामन्त्री रिजालले कम्युनिष्ट नेताहरुको जुँगाको सम्मान जोगाइदिन मात्रै व्याख्यात्मक घोषणा पारित गर्नुपरेको बताए ।
उनले उक्त घोषणामा एमसीसी सम्झौतामा नभएको भन्दा थप कुरा केहीपनि नरहेको बताए । राम्रोसँग सम्झौता पढेको खण्डमा सम्झौतामा नदेखिएका व्याख्यात्मक टिप्पणी गर्ने क्षेत्र केहीपनि नरहेको रिजालले दाबी गरे ।
‘एमसीसी सम्झौता कसैले पनि ढंगका साथ पढेको छैन, एमसीसी सम्झौतामा नदेखिएको र व्याख्यात्मक टिप्पणीमा देखिएको केहिपनि छैन, यसले सम्झौता परिमार्जन पनि गर्दैन, अमेरिकाले यसलाई हेरेर सम्झौता मान्छु मान्दिन पनि भन्नु पर्दैन’ रिजालले भने, ‘नेपालमा कम्यूनिष्ट राजनीतिबाट यहाँसम्म आइपुग्नु भएका नेताहरुले यत्तिका दिनसम्म एमसीसीलाई गिजोल्नु भयो, उहाँहरुको जुँगाको सम्मान जोगाइदिनु पर्ने अवस्था थियो ।’
डा.रिजालले कम्यूनिष्ट नेताहरुकै कारण सम्झौता लामो प्रक्रियाबाट अनुमोदन गर्नुपरेको बताए । उनले व्याख्यात्मक टिप्पणीले केही पनि फरक नपार्ने र अमेरिकालाई नयाँ दायित्व पनि सिर्जना नहुने दाबी गरे ।
‘मैले केही त पाएँ भन्नका लागि हो, यसले अमेरिकालाई नयाँ दायित्व पनि सिर्जना गर्दैन’ कांग्रेससँग सत्ता गठबन्धनमै रहेका कम्युनिष्ट पार्टीका नेताहरुलाई व्यंग गर्दै उनले थपे, ‘इज्जत जोगियो जोगिएन उहाँहरुको कुरा हो, तर सरकारमा बसिराख्ने त बाटो खुल्यो नि उहाँहरुलाई, यतालाई लाज बच्यो, उता (अमेरिका) बाट हेर्दाखेरि चैं अहिलेसम्म बुझेका रहेनछन् बल्ल बुझेछन् भन्ने भयो ।’
वर्तमान गठबन्धनप्रति निकै रुष्ट अभिव्यक्ति दिंदै आएका रिजालले कांग्रेसका लागि यो गठबन्धन सँगै जानुपर्छ भन्ने बाध्यतात्मक अवस्था नरहेको बताए । उनले केपी ओलीले संविधान डिरेल गरेकोले त्यसलाई ट्रयाक ल्याउनका लागि मात्रै गठबन्धन बनेको बताए ।
‘हामी अब युगयुगसम्म सँगै चुनाव लड्छौं भनेर गठबन्धन बनेको होइन, एउटा पार्टी बनाउँछौं भनेर होइन’ उनले भने, ‘उहाँहरुलाई भ्रम के भएको छ भने पहिले बाम गठबन्धन बनाएर चुनाव लड्नु भयो, कहिँ गठबन्धन बन्यो भने सबै सात फेरा घुमेर बनेको जस्तो लाग्छ, फेरा घुमेर बनेको गठबन्धन होइन नि ।’
एमाले अध्यक्ष ओलीप्रति इंकित गर्दै उनले संसदमा झण्डै दुई तिहाई भएको बेलामा एमसीसी पास गर्न नसकेको र अहिले कांग्रेसले परिपक्वता देखाएर अनुमोदन गराइदिएको बताए । ‘ओलीले झण्डै दुई तिहाई हुँदा संसदबाट अनुमोदन गराउन सक्नु भएन, आज संसदमा पाँच अंशको एक अंश भएको दलका नेताले परिपक्वता देखाएर अनुमोदन गर्नुभयो’ रिजालले भने, ‘देउवाबाट केही सिक्नु भयो भने ओलीका लागि राम्रो हुन्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया