दल

पृथ्वीसुब्बा गुरुङ भन्छन्ः

‘सत्ता गठबन्धन लामो समयसम्म टिक्दैन’

इकागज |
फागुन १९, २०७८ बिहीबार २०:३२ बजे

फाइल फोटो

पोखरा : नेकपा एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने बताएका छन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको पोखरामा उद्घाटन गर्दै अवसरवादका जगमा बनेको गठबन्धन कमजोर बन्दै गएको बताए । 

वर्तमान सरकारले मुलुकको विकास एवं जनताका अपेक्षालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनले पत्रकार जगत्ले यस किसिमका मुद्दालाई अघि बढाउनुपर्ने आवश्यकता औल्याए । पत्रकारिता क्षेत्र जिम्मेवार र मर्यादित हुनुपर्ने बताउँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका गुरुङले समाजका सत्यतथ्य कुरालाई जनतामाझ ल्याउनुपर्नेमा जोड दिए । 


चौतारीमा आबद्ध पत्रकारहरु नेताका वरिपरि घुम्नुभन्दा अध्ययन, अनुसन्धानका आधारमा लेख रचनाको माध्यमबाट जनतालाई सुसूचित गर्दै समृद्ध नेपालको अभियानमा जुट्नुपर्नेमा उनको जोड थियो । नेकपा एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले माओवादीले एससिसी सम्झौतामा सडक र सदनमा दोहोरो चरित्र देखाएको बताए । 

सञ्चार क्षेत्रले समाजको परिवर्तनका लागि खोजमूलक पत्रकारितामा जोड दिँदै उहाँले त्यसका लागि क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औल्याए । पार्टी पोलिटब्यूरो सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज मना केसीले पार्टीको नीति, सिद्धान्त र विचारलाई जनतासमक्ष पु¥याउन पत्रकारहरूले जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

प्रेस चौतारी नेपालको वैशाख २७ र २८ गते पोखरामा हुने नवाँै महाधिवेशन आयोजक कमिटी संयोजक गणेश पाण्डेले महाधिवेश सम्पन्न गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गतका ११ जिल्लाका प्रेस चौतारीका संस्थापक, केन्द्रीय पदाधिकारीलगायत १७ जनालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

प्रेस चौतारी गण्डकी प्रदेश संयोजक सुष्मा पौडेलको संयोजकत्वमा भएको कार्यक्रममा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, प्रेस चौतारीका नेता दुर्गाप्रसाद शर्मा, रामकृष्ण शर्मा, विद्रोही गिरी, प्रकाशचन्द्र भट्टराईलगायतले पत्रकारिता क्षेत्रको भूमिका र महत्वमाथि चर्चा गरेका थिए । 


Author

थप समाचार
x