दल

'अघिल्लाे निर्वाचनमा बनाएकाे झन्डाकाे पैसा अझै उठेन'

अतिन आचार्य |
फागुन २७, २०७८ शुक्रबार १५:३ बजे

काठमाडौँ- सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।  निर्वाचन आयोगले पनि निर्वाचन तयारी गराउन आफ्नो गतिविधि बढाउन थालिसकेको छ । बिस्तारै देशभर चुनावी माहोल तात्न थालेको छ । 

विभिन्‍न राजनीतिक दलले आ-आफ्ना समिति बनाएर प्रचारप्रसारमा पनि लागिसकेका छन् । चुनावमा कसरी जाने र कस्तो रणनीति बनाउन पार्टीहरू छलफलमा व्यस्त छन् । कतिपय राजनीतिक दलले गाउँ-गाउँबाट चुनावी अभियान शुरु गरिसकेका छन् । 


बागबजारको सडक पेटीमा मानिसहरूको ओहोरदोहोर छ । बिहानीको समयमा विद्यार्थीदेखि अफिस जान सबै हतारमा देखिन्छन् । पेटीकै छेउमै रहेको पसलको ढोकामाथि मुख्य-मुख्य राजनीतिक दलका झण्डा झुन्डिएका छन् । झण्डा क्रमसँगै मिलाएर राख्दा बिक्रीमा राखेको जस्तो देखिन्छ ।

'यो बिक्रीका लागि नभई झण्डा बनाउने पसल भनेर चिनाउन राखिएको हो,' झण्डालाई डोरीमा राख्दै कामना आर्टका सञ्‍चालक नरेश चौधरी भन्छन् । स्थानीय निर्वाचनको मिति तय भएसँगै पार्टीको झण्डा र टोपी बनाउन आर्ट पसलमा नेता, कार्यकर्ता र पार्टी शुभेच्छुकको भीडभाड बढ्न थालेका छन् । झण्डाको माग आएकाले आर्टिस्टहरू चुनावका विभिन्‍न प्रचारप्रसार सामग्री बनाउन  व्यस्त हुन थालेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका नेताहरू झण्डा बनाउन पसल-पसलमा धाउन थालिसकेका छन् । झण्डाका लागि सबै पार्टीका नेताहरू आएर अर्डर दिन सुरु गरेको चौधरी बताउँछन् ।

चौधरीको आर्ट सेन्टरमा अरूबेला पनि निर्वाचन हुने समयबाहेक पार्टीको सम्मेलनको समयमा र अधिवेशनमा नेताहरूको भीडभाड लाग्‍ने गर्थ्यो।  अहिले भने चुनावी माहोल बनेसँगै स्थानीय, जिल्ला र केन्द्रीय नेताहरूसमेत पार्टीको प्रचारप्रसार सामग्री बनाउने बेलामा आउने गरेका छन् ।

गाउँबाट कामदार बोलाएर काम लगाउने तयारीमा

'नेपाली कांग्रेसले हजार पिस झण्डाको माग गरिसकेका छन्,' झण्डामाथि रंग लगाउँदै चौधरी भन्छन्,' सेन्टरमा सहयोगीहरू तीन जना छन् । कामको चाप बढ्न थालेपछि गाउँबाट चार जना मानिसहरू बोलाउने तयारीमा छु ।' उनले यसअघि भएको निर्वाचनमा माग अनुसार सामग्री बनाउन सकेनन् । यसपटक भने माघको पहिलो सातादेखि मुख्य-मुख्य पार्टीका झण्डा र टोपी बनाउन उनी कस्सिइसकेका छन् ।

बागबजार क्षेत्रमा नरेशले आर्ट सेन्टर खोलेको दुई दशक पूरा भइसकेको छ । सप्‍तरीबाट काठमाडौँ छिरेका उनले चावहिलको ओम आर्ट सेन्टरबाट आफ्नो संघर्षको थालनी सुरु गरेका थिए । उनले बागबजारका केही आर्ट सेन्टरमासमेत काम गरेका थिए । कामदारको रुपमा काम गरेको अनुभव उनीसँग रहेकाले आर्टको काम गर्न गाह्रो नभएको उनले बताए ।

आफूसँग भएको सीपलाई किन प्रयोग नगर्ने भन्दै उनमा आफैँमा आर्ट सेन्टर खोलेर काम सुरु गर्ने हुटहुटी जागेको थियो  । काम गर्दागर्दै ग्राहकहरूसँग चिनजान बढ्दै गएको र आफूसँग भएका कलालाई उपयोग गर्ने सोच बनाए । हातमा सीप भएकाले काम गर्न गाह्रो नभएको विगत सम्झिदै उनले बताए ।

कपडा महँगो भएसँगै झण्डाको मूल्यमा वृद्धि 

साइजअनुसार झण्डाको मूल्य फरक-फरक हुने उनको भनाइ छ । २० रुपैयाँदेखि माथिका झण्डा उनले बनाउने गरेका छन् । झण्डाको साइज १२x१८ को २५ रुपैयाँ पर्ने र १२x१८ को २० रुपैयाँसम्म पर्ने गरेको उनले सुनाए ।

झण्डाको बनोट र सिलाई अनुसार मूल्यमा अन्तर हुने उनले बताए । कुन पार्टीको झण्डा मँहगो मूल्यमा बन्छ भन्‍ने प्रश्‍नमा उनी भन्छन्,' कांग्रेसको झण्डा सिलाएर बनाउँदा मूल्य बढी पर्छ । झण्डामा रातो र सेतो कपडा लगाएर सिलाउनुपर्छ । तारा लगाउनुपर्छ त्यसैले बढी सिलाई कपडा पनि धेरै लाग्‍ने गरेको छ । रुख मात्र बनाउँदा मँहगो पर्दैन किनभने एउटै कपडाको प्रयोग हुने गर्छ ।'

चौधरीले सबै पार्टीको माग आए अनुसार झण्डा बनाउने गर्छन् । एमालेको झण्डा बनाउँदा मूल्य सस्तो पर्ने गरेको उनको भनाइ छ । किनभने एउटै कपडामा सूर्य अंकित झण्डा बन्‍ने गर्छ । झण्डा बनाउने कपडा र रंग महँगो हुँदै गएकाले मूल्य बढी लिनुपर्ने बाध्यता उनीसँग छ । झण्डामा सिल्क कटन कपडा प्रयोग गरिन्छ । ' प्रत्येक वर्ष कपडाको मूल्य बढ्दै गएको छ । ३० रुपैयाँ मिटरमा पाइने कपडाको मूल्य बढेर ५५ रुपैयाँ पुगेकाले मूल्य बढाउनु परेको हो,' चौधरी भन्छन् ।

अघिल्लो निर्वाचनमा नरेशले झण्डा बनाएर २५ लाख रुपैयाँसम्म आम्दानी गरेका थिए । यसपटकको निर्वाचनमा ३० देखि ३५ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने योजनासहित अहिलेदेखि काममा होम्मिएका छन् ।

नेताले अर्डर गरेर नलग्दा फोहोरमा फाल्नुपर्यो

पार्टीका नाम चलेका स्वयम् ठूला-ठूला नेताहरू उनको आर्ट सेन्टरमा उपस्थित भएर झण्डाको अर्डर गर्छन् । केही नेताले भने ठूलो संख्यामा अर्डर गरेका झण्डा, घोषणापत्र र अन्य प्रचार सामग्री निर्वाचनको परिणाम आइसक्दासम्म नलगेको तीतो अनुभव उनीसँग छ । स्टोरमा राख्दा ठाउँ ओगटेकाले कतिपय झण्डा उनले फोहोरको गाडीमा लगेर फालेका थिए ।

'पूर्व गृहमन्त्री समेत भइसकेका कम्युनिष्‍ट पार्टीको नाम चलेका एक नेताले धेरै संख्यामा झण्डा बनाउन अर्डर गरेर नलग्दा ठूलो धनराशी खर्च भएको थियो,'अर्डर गरेर झण्डा लानेलाई स्मरण गर्दै आक्रोश पोख्दै भन्छन,' त्यस्ता नेताको नाम पनि सम्झन चाहन्‍न। मजदुरको नाममा राजनीति गर्नेले मजदुरलाई नै दुःख दिन किन राजनीति गर्नु? हामीले पनि कामदारलाई तलब दिनुपर्छ सित्तैमा कसैले काम गर्दैनन् । बनाउन दिन जान्‍नेले समयमा सामग्री लैजानुपर्छ ।'

गत निर्वाचनमा जस्तै यसपटक पनि नेता र पार्टीले चुनाव प्रचारप्रसार सामग्री बनाउन दिएर धोका नदिन उनले आग्रह गरे । मजदुर र कलाकारको कलालाई सबैले सम्मान गर्न सके मात्र कलाकारहरू सबै बाँच्‍न सक्ने उनको बुझाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x