चुनावमा एमालेलाई एक्ल्याउने देउवाको रणनीति, लोसपालाई २ मन्त्रालयको ‘अफर’
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई एक्ल्याउने गरी गठबन्धन दलको संख्या थप्ने तयारी थालेका छन् ।
देउवाले आफू निकट नेताहरुमार्फत् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि गठबन्धनमा भित्र्याउन वार्ता चलाएका छन् । देउवाले संघीय सरकारदेखि स्थानीय तहको निर्वाचनसम्म लोसपासँग साझेदारीको प्रस्ताव गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारलाई साथ दिएर जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोसपालाई पनि देउवा गठबन्धनमा मिसाएर निर्वाचनमा जान चाहान्छन् । स्थानीय तह निर्वाचनमा एमाले र लोसपाको सहकार्यको सम्भावनालाई टार्न प्रधानमन्त्री देउवाले छलफल थालेका हुन् ।
लोसपालाई सरकारमा ल्याउन २ मन्त्रालयको अफर गरिएको छ । ‘लोसपालाई सरकारमा ल्याउने गरि प्रधानमन्त्रीले महन्थ ठाकुरलाई प्रस्ताव पठाउनुभएको छ, उहाँहरूसँग अहिले हामी प्रारम्भिक छलफलकै चरणमा छौं,’ देउवा निकट स्रोतले भन्यो ।
देउवाले लोसपालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र रक्षा मन्त्रालयको अफर गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराका जेठान गजेन्द्र हमाललाई देउवाले उद्योग मन्त्री बनाउँदा आलोचना भएपछि हमालले मन्त्री पदबाट राजीनामा दिएका थिए । यस्तै रक्षा मन्त्रालयको नेतृत्व गरेका कांग्रेस सांसद मिनेन्द्र रिजाल कांग्रेस महाधिवेशनमा पराजित भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
ओली सरकारले दुई पटक गरेको संसद विघटनलाई सर्वोच्चले बदर गरिदिएपछि पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसको नेतृत्वमा सरकार बनेको थियो । प्रधानमन्त्री देउवालाई लोसपाले विना शर्त विश्वासको मत समेत दिएको थियो । यद्यपी लोसपा गठबन्धनमा भने मिसिएको थिएन ।
स्थानीय तह चुनावमा एमाले र लोसपाले मधेशमा सहकार्य गर्न सक्ने सूचनाका आधारमा देउवाले यो कदम चालेका हुन् । आगामी चुनावमा एमालेसँग एक्लै लड्न नसक्ने बताउँदै आएका प्रधानमन्त्री देउवाले गठबन्धन कायमै राखेर चुनाव लड्नुपर्ने बताइसकेका छन् । पर्साको एक कार्यक्रममा बोल्दै देउवाले एमाले व्यापक जनसंगठन भएको बलियो पार्टी भएकाले अहिले गठबन्धन कायमै राख्नुपर्ने बताएका थिए ।
अघिल्लो स्थानीय निर्वाचनमा एमालेले मधेशका १ सय ३६ पालिकामध्ये २२ पालिकामा जितेको थियो । आउँदो चुनावमा एमालेले मधेशका आधा पालिकामा जित्ने लक्ष्य राखेर तयारी गरिरहेको छ । एमाले उप–महासचिव प्रदीप ज्ञवालीले इकागजसँग भने, ‘अघिल्लो चुनावमा तराईमा हाम्रो उपस्थिति कमजोर थियो, २२ वटा पालिकामा मात्रै हामीले जितेका थियौं । अब चाहिँ हामीले मधेशका आधा पालिकामा जित्ने लक्ष्य लिएर बढेका छौं ।’
एमालेले यसको एक आधार लोसपासँगको सम्भावित सहकार्यलाई पनि मानेको थियो । यसैकारण पनि देउवा जतिसक्दो चाँडो लोसपालाई एमालेसँग मिल्न नदिएर गठबन्धनमा ल्याउन चाहान्छन् ।
यद्यपि लोसपाका सांसद लक्ष्मणलाल कर्णले अहिले सरकारमा जाने आधार तयार भइनसकेको बताएका छन् । अनौपचारिक छलफल चलेपनि सरकारमा जाने आधार अहिले नै बनिनसकेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया