दल

पार्टीभित्र अराजकता, गुटबन्दी हावी भयो- अध्यक्ष दाहाल

इकागज |
चैत २, २०७८ बुधबार १७:४६ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र अराजकता, गुटबन्दी हावी भएको बताएका छन् । 

बुधबार काठमाडौंमा माओवादी उपत्यका विशेष प्रदेश समितिको आयोजनामा वैचारिक राजनीतिक प्रशिक्षणका क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दै गएको र अराजकता, गुटबन्दीका साथै पदलोलुपता बढ्दै गएको बताएका हुन् । 


युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेको जमात हुने गरेको स्मरण गर्दै प्रचण्डले अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात बढेको धारणा राखे । 

त्यस्तै उनले नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिलाई सच्चाउन जरुरी रहेको उल्लेख गरे । 

संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिदिन कम्युनिस्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको प्रचण्डको भनाई थियो । 

त्यस्तै उनले अहिले जति नै क्रान्तिको कुरा गरिरहे पनि पार्टी बिस्तारै बुर्जुवाकरण भइरहेको र अराजकता बढी राखेकाले समस्या पैदा भएको बताएका थिए । 

त्यस्तै उनले केही दल सेटिङ गरेर चुनाव जित्न सिपालु रहेको भन्दै उनले आगामी चुनाव पार्टीका लागि ‘ जीवन मरणको सवाल भएको धारणा राखेका थिए ।  


Author

थप समाचार
x