दल

एमसीसीबारे बुझाएर कांग्रेसको पक्षमा भोट माग्नुपर्छ - पौडेल

इकागज |
चैत ८, २०७८ मंगलबार १८:५८ बजे

फाइल फोटो

तनहुँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीबारे सत्यतथ्य बुझाएर कांग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमसीसी पास गर्ने कांग्रेस हो भनेर जनतामाझ जानुपर्ने र कांग्रेसलाई जिताउन भोट माग्नुपर्ने उल्लेख गरे । 


एमसीसी नेपालको विकासका निम्ति आवश्यक रहेको चर्चा गर्दै उनले भने, `कांग्रेसले एमसीसी पास गर्‍यो, त्यही कारण कांग्रेसलाई भोट देउ भनेर जनतामाझ जानुपर्छ ।` एमसीसी परियोजनामार्फत उत्पादन हुने बिजुली बेचेर नेपाललाई धनी बनाउन सकिने उनको भनाइ थियो । 

नेपालको गरिबी अन्त्यका लागि एमसिसी परियोजना सफल हुने उल्लेख गर्दै नेता पौडेलले एमसीसीको विरोध गर्नेहरु राष्ट्रघाती भएको आरोप लगाए । `देश विकास गर्ने पार्टी कांग्रेस हो, देशलाई कांग्रेसले मात्रै बलियो बनाउँछ,` पौडेलले भने, `देशको भविष्य सोचेर कांग्रेसले दूरदर्शी निर्णय गरेको छ । यही कुरा जनतालाई बुझाउनुपर्छ ।`

कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति विषेश्वर खनाललगायतले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । 
 


Author

थप समाचार
x