दल

शेखरले सभापति देउवालाई सोधे, भ्रातृ संस्थाका तदर्थ समिति र संसदीय बोर्ड बन्न किन ढिलाइ

इकागज |
चैत ९, २०७८ बुधबार १३:१ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच टेलिफोन संवाद भएको छ । कोइरालाको सचिवालयका अनुसार आज बिहान कोइरालाले रिक्त रहेका भ्रातृ संस्थाका तदर्थ समिति गठन र संसदीय बोर्ड निर्माणका विषयमा देउवासँग चासो राखेको हुन् । 

शेखरको सचिवालयले भन्यो, `भातृ संस्थाको तदर्थ समिति आउन किन ढिलाइ भएको भन्दै पार्टी सभापतिसँग कुराकानी गर्नुभएको हो ? जवाफमा सभापति देउवाले  पनि सबै पक्षलाई मिलाएर लान खोज्दा केही ढिलाइ भएको जवाफ दिनुभयो ।`


कांग्रेसको पहिलो कार्यसम्पादन समितिको बैठकले फागुनभित्र रिक्त रहेका भ्रातृ संस्थाको तदर्थ समिति ल्याउने निर्णय गरेको थियो । फागुन सकिएर चैत लाग्दासम्म तदर्थ समिति आउन सकेको छैन ।

कुराकानीका क्रममा शेखरले देउवालाई आफू सहयोगी बन्न चाहेको, सभापतिलाई सफल बनाउन चाहेको बताएका थिए । त्यसका लागि सभापति देउवाले गुटभन्दा माथि उठेर सबैलाई न्यायसंगत रुपमा व्यवहार गर्नुपर्ने कोइरालाको भनाइ थियो। देउवाले पनि सबैलाई मिलाएर लान आफू लागिपरेको जवाफ दिएको शेखरको सचिवालयले जनाएको छ । 

संसदीय बोर्ड निर्माण गर्दा `सिनियर`लाई समेटेर लान पनि शेखरले देउवासँग आग्रह गरेका थिए । 

१४औँ महाधिवेशनमा देउवा र शेखर सभापतिका लागि चुनावी प्रतिस्पर्धामा थिए । देउवा सभापतिमा निर्वाचित भएपछि शेखर र देउवाको यो दोस्रो कुराकानी हो । 

यसअघि गत फागुन ९ गते दिउँसो साढे तीन बजे देउवा र शेखरबीच बालुवाटारमा भेटघाट भएको थियो । देउवाले छलफलका लागि बोलाएपछि उनी बालुवाटार पुगेका थिए ।


Author

थप समाचार
x