दल

शेखर समूहले सभापतिद्वारा गरिएका एकलौटी निर्णयमा सार्वजनिक रुपमै असहमति राख्ने

इकागज |
चैत ९, २०७८ बुधबार १८:५१ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले सभापतिले गरेका एकलौटी निर्णयमा असहमति राख्ने भएको छ । 

आज काठमाडौँमा बसेको शेखर समूहको बैठकले सभापति शेरबहादुर देउवाले गरेका एकलौटी निर्णयमा लिखित रुपमै असहमति राख्ने निर्णय गरेको हो । 


 सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा आफूलाई भोट नहाल्नेहरुलाई कुनै पनि स्थान नदिने नीति अंगीकार गरेको शेखर समूहको आरोप छ । 

सभापति निर्वाचित हुनासाथ देउवाले सभापतिमा चुनावी प्रतिस्पर्धामा रहेका सबै र तिनका नजिककालाई केन्द्रीय सदस्यमा मनोनीत गरेपनि शेखर समूहबाट चुनावी प्रतिस्पर्धामा रहेका कसैलाई पनि केन्द्रीय समितिमा मनोनीत गरेका छैनन् । 

शेखर समूहले हरेकको न्यायोचित व्यवस्थापन भए सभापति देउवासँग टिमका नाममा भाग नमाग्ने यसअघि नै बताएको थियो । 

सभापति देउवाले न्यायोचित व्यवस्थापन नगर्ने र आफ्ना साथीहरुमाथि अन्याय हुने भन्दै शेखर समूहकै केही केन्द्रीय सदस्यहरुले टिमले पाएको मतको आधारमा भाग माग्नुपर्ने सुझाव दिइरहेका छन् । 

निर्वाचनमा विजयी भएपश्चात पराजित भएका शेखरलाई पेलेरै जाने रणनीतिमा देउवा देखिएको उनीहरुको निष्कर्ष छ । 

बैठकमा सहभागी एक नेताले भने, `सभापतिजी पेलेरै जाने मनस्थितिमा हुनुहुन्छ, उहाँले पार्टीमा न्यायोचित व्यवस्थापन नगरेको हामीले पाएका छौँ अब मतका आधारमा तल भएपनि धेरै साथीहरु हामीसँग पनि हुनुहुन्छ उनीहरुको व्यवस्थापन गर्न जरुरी छ । त्यसका लागि पनि हामीले सभापति देउवालाई दबाब दिनुपर्ने अवस्था आएको छ ।` 

हालसम्म शेखरसँग भेटघाट र छलफललाई तीव्रता नदिनुले पनि देउवाको दाउलाई थप पुष्टि गरेको छ ।

बैटकमा पार्टीका आन्तरिक गतिविधि, संसदीय बोर्ड गठन र म्याद सकिएका भ्रातृ संस्थाहरुको तदर्थ समिति गठनमा समूह कसरी जाने भन्ने विषयमासमेत छलफल भएको छ । 

बैठकमा शेखर समूहका पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो । 

यसअघि आज बिहान शेखरले सभापति तथा प्रधानमन्त्री देउवासँग टेलिफोन संवाद गरेका थिए ।
 


Author

थप समाचार
x