दल

बिओपी स्थापना सरकारको प्राथमिकतामा छ - गृहमन्त्री

इकागज |
चैत ९, २०७८ बुधबार १९:४० बजे

फाइल फोटो

नवलपुर - गृहमन्त्री बालकृष्ण खाणले सरकारले सीमा सुरक्षाका लागि ब्रोडर आउट पोष्ट (बिओपी) स्थापनालाई विशेष प्राथमिकता दिएको बताएका छन् । 

नवलपुरको कावासोतीमा आजदेखि सुरु भएको नेपाल आदिवासी जनजाति महासङ्घको १०औँ महाधिवेशनको उद्घाटन शत्रमा उनले भने, `अहिले भर्खर–भर्खर सरकारले बिओपीको स्थापना गर्दैछ । सीमा सुरक्षाको लागि सुरक्षाकर्मीको उपस्थितिसहित बोर्डर आउट पोष्ट स्थापना गर्दैछ ।`


सीमा सुरक्षाका लागि अझै पनि पूर्वाधार पर्याप्त नरहेको तर्क गर्दै मन्त्री खाणले सरकारले आवश्यक सङ्ख्यामा बिओपी स्थापना गर्न लागिरहेको बताए । 

नेपालको भूगोलको रक्षा, नेपालको माटोको रक्षा, जलजमिनको रक्षाको लागि आदिवासी जनजाति अहोरात्र खटिएकै कारण सीमाको रक्षा भएको उनले उल्लेख गरे । 

उनले भने, `हामी काठमाडौँमा बसेकाले हिमाली र तराई भूभागको सीमाको रक्षा गरेका होइनौँ, त्यही भूभागमा बसेका आदिवासी जनजाति आमाबुबा दाजुभाइ दिदीबहिनीहरूले गरेको हो ।` 

उनले थपे, `हिमालमा बसेका शेर्पा, राई लिम्बू, तामाङ, मगर गुरुङ थुप्रै आदिवासी जनजाति समुदाय वा तराईका थारु, कुमाल, यादव, पाशी, धोबी होलान वा सीमामा बसेका अन्य नेपाली सीमाको रक्षाका लागि लड्नुभएको छ । राष्ट्रियताको रक्षा भएको छ । तसर्थ हामी सबै नेपालीले एकअर्काको सम्मान गर्नुपर्छ ।`

उनले आदिवासी जनजाति महासङ्घमा आबद्ध भएका लोपोन्मुख जातिको प्रवद्र्धन र संरक्षण गर्ने राज्यको दायित्व रहेको बताए । 


Author

थप समाचार
x