ओलीका चुनावी उट्पट्याङ
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली श्रुतिमधुर वक्ता हुन् । हँस्यौली, ठट्यौली, उखान टुक्कामा माहिर उनीबाट श्रोता र दर्शकले पनि केही–केही रमाइला कुरा सुन्न पाइन्छ भनेर अपेक्षा पनि गर्छन् । सुनाउनेमात्र हाेइन आजकाल उनी कतिपय नेताहरूकाे क्यारिकेचर गरेर पनि देखाउँछन् । प्रस्तुत छ, ओलीका केही चुनावकेन्द्रित उट्पट्याङहरूः
१. हाम्रा घरका बिरालाहरू अहिले शेरबहादुरजीका भान्छामा छन् ।
२. शेरबहादुरजीका लागि ४–५ हजार रुपैयाँ वृद्धभत्ता ठूलो कुरा होइन भनेर लिनुभएन होला तर उहाँले विवेक प्रयोग गर्नुहुन्छ र भोटचाहिं एमालेमै हाल्नुहुन्छ ।
३. एउटा स्याल झुक्किएर नीलो रङले भरिएको भाँडामा परेछ र पुरै नीलो भएर निस्केछ । जङ्गलमा नौलो नीलो रङको स्याल देखेर अरु स्यालहरू चकित परेछन् । उसले पनि फूर्ति लाउँदो रहेछ, म त राजा हुँ राजा, तिमीहरू जस्तो होइन । सबै अचम्मित भए, स्याल हो भनौं, फरक रङको छ, फूर्ति पनि लाउँछ । त्यसपछि यसकाे जाँच गर्नुपर्याे भनेर अरु स्यालहरू मिलेर मुन्टो मास्तिर तानेर हुँऊँऊँ गरेर कराएछन्, त्यो हुइँया सुनेर, नीलो स्याल पनि हुँऊँऊँ गरेर कराउन लागेछ । अनि देखिएन त फरक । योचाहिं मैले प्रचण्डलाई भनेको ।
४. कथंकदाचित श्रीमान् मन परेन भने पनि श्रीमतीले गहना फुकालेर जिम्मा लगाएर मात्र छाड्ने चलन हुन्छ, माधव नेपाललाई हामीले लाइदिएको झुम्के बुलाकी फुकालेर जानुपर्दैन ?
५. यो सरकार बालुवाको मूला जस्तो हो, जरा–सरा केही छैन । हल्लाउनु पनि पर्दैन, पुक्लुक्क उखेलिन्छ । हामी यसलाई तान्ने दिन खाेजिरहेका छाैं, यिनीहरू भागिरहेका छन् ।
६. चिम्पान्जी जब युवा हुन्छ, बलको उन्मादले भीड्नका लागि आउ भन्दै ड्याम, ड्याम, ड्याम छाति पिट्छ । बलको उन्मादले त्यस्तो हुन्छ, भीड्न अर्काे चिम्पान्जी भेट्याे भने भिडीहाल्छ । अहिलेका कतिपय माननीय मन्त्रीहरू पनि त्यस्तै छन् ।
७. यो गठबन्धनलाई चुनावमा पानी मुनि गएपनि छाडिँदैन । संसारभरका ज्योतिषलाई सोधे हुन्छ, एक वर्ष पनि छैन यो सरकारको आयु ।
८. चुनावमा कांग्रेसले औंला समात्न दिएन भने के हाल होला भनेर रोएर बसेका छन् कोही–कोही ।
९. खोला बढ्दा मानिसहरू एकले अर्कोको हात समातेर धेरैजसो किनारा र छेउतिर बसेर क्रमशः शुरुका मानिसले खोलाको गहिराई नाप्दै क्रमशः अघि बढेर अर्को किनारामा पुग्छन् । त्यसो गर्दा खोलो ठूलो रहेछ र खोलामा हेलिएको मान्छे बग्यो भने पनि किनारातिर बस्नेले तान्ने हुन्छ । अहिले निर्वाचनमा गठबन्धन त्यसैगरी खोलो तर्न खोज्दैछन् । तर चुनावमा यिनीहरू एमालेरूपी खोलामा बग्नेछन्, पार लाग्दैनन् ।
१०. लोकतन्त्रका सवालमा कांग्रेस र एमालेबीच कस्तो प्रतिस्पर्धा हुनुहुँदैन भने एउटाको छोरा राती बितेछ । गुन्द्रीमा पोको पारेर सत्गत् गर्न लैजाँदा लास छिमेकीको आँगनमा खसेछ । पत्तो भएनछ । गए लास गाड्यौं भनिठानेर फर्के । भोलिपल्ट सखारै छिमेकीले लास देखेछ । ए ! छोरो मारेर फाल्ने ? त्यसले मात्र छोरो मारेर फाल्न सक्छ भनेर उसले प्रतिशोधले आफ्नै छोरालाई ‘ए काले यता आइज’ भनेर बोलाएर छोरालाई चिर्पटले हानेर मारेछ र त्यो छिमेकीको आँगनमा लगेर छोरोको लास फालेछ । अनि तैंलेमात्र छोरो मारेर फाल्न सक्छस्, म सक्दिनँ ? भन्थ्यो रे ! कम्तीमा कांग्रेसले हामीसँग यस्तो प्रतिस्पर्धा नगरोस् ।
११. धान रोप्दा सामा पलाउँछ, रुखमा ऐंजेरु पलाउँछ; अहिलेका केही पार्टीहरू त्यस्तै हुन् ।
१२. यसअघि हामीले पनि मिलाई–मिलाई चुनाव लडेका थियौं । पछि पार्टी एकीकरण गरेर बहुमत पुर्याएका थियौं । एउटा टेकोले नअड्ने भएपछि अर्को पनि टेको लगाएका थियौं । तर त्यो कमजोर र स्वार्थी टेको परेछ । यताबाट खट्याक्क भएर अर्कोपट्टी पुग्ने टेको परेछ ।
१३. एकैपटक हामीले देशभर ३९६ अस्पतालको शिलान्यास गर्यौं, विश्व रेकर्ड हो यो । गिनिज बुकमा यस्ता त कति लेखे हुन्छ, हामीले दाबी नगरेर मात्र हो । गिनिज बुक त आधा हामीले गरेको कामले भरिन्छ ।
(संकलन : इकागज)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया