दल

तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ– प्रचण्ड

इकागज |
चैत १७, २०७८ बिहीबार १५:२४ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पारेका छन् ।

 रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा उनले गठबन्धन आवश्यकताले जन्मिएको र त्यो निर्वाचनसम्म कायम रहने स्पष्ट पारेका हुन् । 


`गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो, संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका हौँ, कांग्रेसले पनि गठबन्धन कायम राखेर जाने भन्ने निर्णय गरिसकेको छ, अब कुनै दुविधा छैन, निर्वाचन शान्तिपूर्ण हुन्छ, निष्पक्ष हुन्छ`–उनले भने । 

अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, समावेशिताको रक्षामा माओवादी केन्द्र लाग्ने भन्दै मुलुकमा सङ्कटको समयमा आफ्नो पार्टीले जहिले पनि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । 

 उनले भने, `देशमा आउने सबै सङ्कटमा मोचनको भूमिका खेल्ने काम माओवादी केन्द्रले गरेको छ, तर सबैले माओवादीलाई त्यो भूमिका खेलेको रुपमा स्वीकार नगरेको स्थिति छ ।` 

उनले प्रेस तथा पत्रकारिता क्षेत्र सङ्घीय लोकतान्त्रिक प्रक्रियाको एउटा महत्वपूर्ण क्षेत्र भएको बताउँदै भने `प्रेसको जसरी विकास भएको छ, जुन गतिमा विकास भएको छ, स्वतन्त्रताको जुन तहमा उपभोग गरिएको छ, यो उत्साहजनक छ ।` उनले देशको अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्दै अर्थतन्त्रलाई सम्हालेर लैजानेतर्फ प्रयास जारी रहेको बताए । 

अध्यक्ष प्रचण्डले श्रीलङका जस्तो स्थितिमा नेपाल नरहे पनि भोलिका दिन नेपालमा पनि अप्ठ्यारो स्थिति आउन सक्ने भन्दै त्यसको समाधानको लागि पहल सुरु भइरहेको बताए । 


Author

थप समाचार
x